+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिरहा: नेपालको ‘आँपको राजधानी’

अत्रिदेव खबर
२०८२ अषाढ ६, शुक्रबार

सिरहा : अहिले आँप पाक्ने मुख्य याम हो। सिरहाका बजारमा मात्र होइन, सडक किनार र अन्यत्र पनि आँप छपक्कै देखिन्छन्। केही आँप उत्पादक किसान ग्राहकको पर्खाइमा छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ। पूर्वपश्चिम राजमार्गको सडक किनार आँपले ढाकिएको छ। मालदह लगायतका आँपको सुगन्धले सिरहा मगमगाएको छ। हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा आँपको यो सुगन्ध सिरहाको पहिचान बनेको छ। हावामा घुलिएको त्यो सुगन्ध स्वादमा बदलिन्छ, र यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको कथा बन्न थालेको छ।

सिरहालाई ‘आँपको राजधानी’ मानिन्छ। यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभई जनमानसमा विकसित भएको उपमा हो। सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको ठूलो उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वका कारण हुन सक्छ। आँप केवल स्वादिलो फल मात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग जोडिएको फल पनि हो। त्यसैले यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ। यसको खेतीमा जीवनयापन गर्ने हजारौं व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ। आँप स्वाद र सुगन्धको प्रतीक मात्र नभई धेरैका लागि जीवनको आधार पनि हो।

व्यावसायिक आँप खेती फस्टाउँदै, तर चुनौती पनि उस्तै

गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार पारेका छन्। यो बगैँचा अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमुना बनेको छ। यस बगैँचाले उत्पादनमा मात्र योगदान पुर्याएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउन पनि प्रेरणा दिएको छ।

किसान निरज सिंह भन्छन्, “पहिला परम्परागत रूपमा खेती गर्थ्यौं, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौं।” उनी आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेको बताउँछन्। सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिपेर, प्याक गरेर काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरिएको छ। बगैँचाबाट हरेक वर्ष लाखौँ रुपैयाँको आँप बिक्री हुने गरेको उनको भनाइ छ।

तर, नेपालमा आँपको मुख्य मौसम सुरु नहुँदै भारतीय आँपले बजार भरिने क्रम यस वर्ष पनि दोहोरिएकोमा किसान सिंहले दुःख व्यक्त गरे। उनका अनुसार जेठको दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो वा दोस्रो हप्ता मात्र पाक्न सुरु गर्छन्। “यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्,” उनी भन्छन्। स्थानीय आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन्। सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्छन्, “हामीले मेहनत गरेर आँप उत्पादन गर्यौं, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ। एकातिर आँपको उत्पादन घट्यो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो।”

भारतीय आँप नेपालमा सस्तो मूल्यमा पाइने भए पनि उपभोक्ताले धेरैजसो अवस्थामा रसायन प्रयोगको डर, कम स्वाद र कम ताजगीजस्ता गुनासो व्यक्त गर्ने गरेका छन्। नेपालमा फलफूल आयातका सम्बन्धमा स्पष्ट नीतिको अभाव, कमजोर सीमास्तर निगरानी र स्थानीय उत्पादनको संरक्षण नहुनु मुख्य कारण मानिन्छ। किसानहरू भन्छन्, “नेपाल सरकारले कागजमा आत्मनिर्भरता भन्ने नारा लगाउँछ, तर व्यवहारमा किसानको संरक्षण छैन।” स्वाद र गुणस्तरमा अब्बल भए पनि स्थानीय आँप उत्पादनले बजारमा भारतीय फलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ। विदेशी आँप बढी चम्किला र आकर्षक देखिए पनि तीमध्ये धेरैमा अत्यधिक विषादी वा रसायन प्रयोग हुने गरेको खबर सार्वजनिक भइरहन्छन्। लहान–२४ का व्यावसायिक किसान शम्भु चौधरी भन्छन्, “हामीले रोग नियन्त्रणका लागि केही जैविक उपाय मात्र अपनाउँछौँ र अत्यधिक विषादी प्रयोग गर्दैनौँ। यसैले हाम्रो आँप स्वादिलो, सुरक्षित र ताजा हुन्छ।”

आँप उत्पादनमा सिरहा पहिलो

मधेस प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो। यहाँको हावापानी र माटो आँप उत्पादनका लागि सुहाउँदो छ। प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँपखेती हुँदै आएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका सचिव डा. उमेश दाहालको भनाइ अनुसार आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान छ।

मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँपखेती हुन्छ। जसबाट वार्षिक ५ लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुन्छ। यसमध्ये मधेस प्रदेशमा मात्र २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँपखेती हुने गरेको छ, जहाँबाट वार्षिक ३ लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।

आँप उत्पादनका दृष्टिले सिरहा सबैभन्दा अगाडि छ। सिरहामा वार्षिक १ लाख ४ हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ।

स्वादमा नामी ‘लहानको माल्द आँप’ र ब्राण्डिङको प्रयास

नेपालका विभिन्न सहरमा ‘लहानको माल्द आँप’ भनेर बिक्री हुने आँप स्वादका हिसाबले चर्चित छ। तर पछिल्लो समय बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’का कारणले यसको बदनामी पनि उत्तिकै बढेको छ। लहानकै वास्तविक माल्दको स्वाद पाएकाहरूमाझ भने यो आँप नामी छ।

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्छन्, “लहानकै वास्तविक माल्द आँप खाएका उपभोक्ता यसको मिठास, सुगन्ध र प्राकृतिक रसिलोपनाको खुलेर प्रशंसा गर्छन्। तर बजारमा यही नाममा कम गुणस्तरका, समयअगावै टिपेर पकाइएका वा भारतीय आँप बिक्री हुँदा उपभोक्तामा भ्रम र असन्तुष्टि बढेको छ।” राजमार्गको उत्तरी भेगमा पर्ने सिरहाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा सुक्खा जमिनमा फल्ने आँप दक्षिणी भेगमा ओसिलो ठाउँमा फल्ने आँपभन्दा स्वादिलो र मीठो हुन्छ।

स्थानीय आँपको ‘ब्राण्डिङ’का लागि ‘लहानको आँप’ भनेर अर्कै ठाउँको आँप बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउने प्रवृत्तिलाई निरुत्साहित गर्दै अग्र्यानिक लहानको आँपको प्रवर्द्धन गर्न लहान नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको माल्द आँपलाई ‘ब्राण्डिङ’ गरी काठमाडौँ लगायत विभिन्न सहरमा पठाउने गरेको छ। गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई ब्राण्डिङ, ग्रेडिङ र प्याकेजिङ गर्नाले उपभोक्ता र उत्पादक दुवै ठगिनबाट जोगिने नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीले बताए।

उनका अनुसार पहिलो वर्ष ३० मेट्रिक टन र दोस्रो वर्ष ९० मेट्रिक टन आँप ‘ब्राण्डिङ’ गरी काठमाडौँ, पोखरा, हेटौँडा लगायत सहरमा बिक्री गरिएको थियो। त्यसैगरी यस वर्षदेखि गोलबजारको आँपलाई पनि ‘ब्राण्डिङ’ गरिएको छ।

आँपको उत्पादनमा कमी भएपछि यस वर्ष यहाँको आँपलाई ‘ब्राण्डिङ’ नगरिएको लहान नगरपालिका कृषि शाखाले जनाएको छ। एक वर्ष बि

२०८२ अषाढ ६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ