+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलम बममा ७४ औं स्काउट दिवस, प्रदेश प्रमुख र नगरप्रमुखद्वारा विद्यार्थीमा स्काउटका फाइदामाथि जोड

अत्रिदेव खबर
२०८२ अषाढ ५, बिहिबार

पहलमानपुर : कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरस्थित कलम बम मेमोरियल ईङ्ग्लिस स्कुलमा ७४ औं स्काउट दिवसका अवसरमा आयोजित सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कलम बम स्कुल स्काउट ट्रुपद्वारा आयोजित यस कार्यक्रममा विद्यार्थीहरूमा स्काउटको महत्त्व र फाइदाबारे व्यापक चर्चा गरियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्काउट दिवसको शुभकामना दिँदै स्काउटले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। उहाँले स्काउट गतिविधिहरूले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनुका साथै राष्ट्र निर्माणमा समेत सहयोग पुर्‍याउने बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि घोडाघोडी नगरप्रमुख खडक रावतले नगरपालिकाले स्काउटको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले युवाहरूलाई स्काउटमा आबद्ध हुन प्रोत्साहन गर्दै नगरको विकासमा स्काउटको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रमको सभापतित्व गर्नुभएका कलम बम मेमोरियल ईङ्ग्लिस स्कुलका प्रिन्सिपल युवराज बमले आफ्नो विद्यालयले स्काउटका माध्यमबाट विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपसचिव खगेन्द्र सिंह, स्काउट सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापा, घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेश रेग्मी, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्यता वृद्धि आयुक्त भीम राज अम्माईलगायतका अतिथिहरूले स्काउट गतिविधि र यसको भूमिकाबारे प्रकाश पारेका थिए। यसैगरी, स्काउट अभियन्ताहरू बिनोद बोहरा, तोयराज जोशी, खागुदेवी बोहरा, पुष्कर अवस्थी तथा विभिन्न विद्यालयका स्काउट मास्टरहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण बुधबार सम्पन्न भएको हाजिरीजवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नु थियो। हाजिरीजवाफ प्रतियोगितामा कलम बम स्काउट ट्रुप प्रथम हुँदा बसन्त मुरारी स्काउट दल द्वितीय र पायोनियर स्काउट दल तृतीय भए। वक्तृत्वकलामा पायोनियर स्काउट दलले बाजी मार्‍यो भने कलम बम स्काउट दल र न्यु स्टार स्काउट दल द्वितीय तथा बसन्त मुरारी स्काउट दल तृतीय भए। चित्रकलातर्फ कलम बम स्काउट ट्रुप प्रथम, राष्ट्रिय मावि नक्फोडुवा स्काउट ट्रुप द्वितीय र महादेवा मावि शंकरपुर स्काउट ट्रुप तृतीय भए।
विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका मनमोहक सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो। कार्यक्रममा उपस्थित सबै अतिथिहरूले कलम बम मेमोरियल ईङ्ग्लिस स्कुलले स्काउट दिवसको अवसरमा यस्तो भव्य र अर्थपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। सोही अवसरमा विद्यालयले घोडाघोडी नगरपालिका स्काउट वृद्धि संयोजक भीम राज अम्मैलाई  विद्यालयहरुमा विभिन्न स्काउट गतिविधि सञ्चालन गरेकोमा सम्मान पनि गरेको थियो।


यस कार्यक्रमले कलम बम ईङ्ग्लिस स्कुलको स्काउट प्रतिको प्रतिबद्धता र विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षाको विकासमा यसको सक्रिय भूमिकालाई पुनः पुष्टि गरेको छ।

२०८२ अषाढ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ