काठमाडौं : न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार इजरायलसँगको जारी युद्धमा आवश्यक परेमा इरानले अमेरिकाविरुद्ध पनि आक्रमणको तयारी गरिरहेको छ। यस रिपोर्टमा इरानले अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्नका लागि मिसाइल र हतियारहरू तयार पारेको उल्लेख छ। इरानले इजरायलमाथि गरिरहेको आक्रमणको प्रतिक्रियामा वा भविष्यमा कुनै अमेरिकी कदमको जवाफमा अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउन सक्ने सम्भावना रहेको जनाइएको छ।
रिपोर्टअनुसार, इरानका कम्तीमा दुई अधिकारीहरूका अनुसार अमेरिका इजरायलको पक्षबाट युद्धमा सामेल भएमा इरानले इराकमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गर्न सक्छ। यसपछि अन्य देशमा रहेका अमेरिकी सैन्य बेस पनि उसको निशानामा पर्न सक्छन्।
अमेरिका सुरुदेखि नै इजरायलको पक्षमा उभिँदै आएको छ। इरानमाथि इजरायलले आक्रमण गरेपछि पछिल्लो टकराव सुरु भएको हो। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयोतल्लाह अली खामेनीलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्। ट्रम्पले खामेनी कहाँ रहेको पनि आफूहरूलाई थाहा भएको र उनलाई तत्काल नमार्ने टिप्पणी गरेका थिए। ट्रम्पको उक्त चेतावनी आएको केही समयमा खामेनीले युद्ध सुरु भएको चेतावनी दिएका थिए।
खामेनीले आफ्नो एक्स (पहिलेको ट्विटर) मा लेखेका छन्, “पवित्र हैदरको नाममा युद्ध सुरु भयो।” उनले आतंकवादी शासनहरूलाई कडा जवाफ दिनुपर्ने र त्यसमा कुनै दया नदेखाउने उल्लेख गरेका छन्।
यता, इरानले इजरायलतर्फ ‘फताह-१’ मिसाइल प्रक्षेपण गरेको जनाएको छ। सरकारी स्वामित्वका मिडियाहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले यो समाचार सम्प्रेषण गरेका छन्।इरानको प्रेस टीभीका अनुसार इस्लामिक रिभोलुसन गार्ड्स क्रोप्सलाई उद्धृत गर्दै यसलाई “महत्त्वपूर्ण मोड” भनेको छ। साथै, यो मिसाइलले इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीको अन्त्य सुरु भएको दाबी गरेको छ।
बीबीसीका अनुसार ‘फताह-१’ एक हाइपरसोनिक मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो, जसलाई इरानले सन् २०२३ मा सार्वजनिक गरेको थियो। इरानका अनुसार, यसको उच्च चलायमान क्षमता र गतिले यसलाई मिसाइल प्रतिरक्षा प्रणालीहरूलाई छल्न मद्दत गर्छ। यो मिसाइलले म्याच १३ देखि १५ सम्मको गतिमा १,४०० किलोमिटर (८७० माइल) को दायरामा लक्ष्यमा प्रहार गर्न सक्ने दाबी गरिएको छ, जसले यसलाई इजरायलसम्म पुग्न सक्षम बनाउँछ।
२०८२ अषाढ ४, बुधबार