सुखड : काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको तर्फबाट घोडाघोडी नगरपालिकाभित्रका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारेपछि उनीहरूलाई सोमबार एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ। घोडाघोडी नगरपालिकाले पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद, अबिर, खादा र प्रशंसा–पत्रसहित सम्मान गरेको हो।
नगर प्रमुख खडक बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, उपसचिव खगेन्द्र बहादुर सिंह,नगर प्रवक्ता घनश्याम ओझा, शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले संयुक्त रूपमा पुरस्कार वितरण गर्दै खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए। प्रतियोगितामा घोडाघोडी नगरभित्रका खेलाडीहरूले सुदूरपश्चिम प्रदेशको तर्फबाट सहभागिता जनाएका थिए।
प्रतियोगितामा विमला महराले भलिबलमा, सङ्गीता विकले दौडमा, विवेक चौधरीले सटफटमा, विक्रम विष्टले दौडमा, विकास बुढाले ट्रिपल जम्पमा र सुस्मिता चौधरीले हाई जम्पमा प्रथम स्थान हासिल गरे। यस्तै, पवित्रा चौधरी लङ जम्पमा दोस्रो, विक्रम वि.क. दौडमा दोस्रो र उषा चौधरी रिले दौडमा तेस्रो स्थानमा रहे। उनीहरू सबै घोडाघोडी नगरपालिकाभित्रका खेलाडी हुन्, जसको प्रशिक्षण प्रशिक्षक तेजेन्द्र देउवाले दिएका थिए।
प्रतियोगितामा पदक जितेका खेलाडीहरूलाई नगरपालिकाले स्वर्ण पदकका लागि १० हजार, रजत पदकका लागि ७ हजार ५ सय र कांस्य पदकका लागि ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।
नगर प्रमुख खडक रावतले प्रतियोगितामा घोडाघोडीका खेलाडीहरूले देखाएको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै उनीहरूको हौसला बढाउन नगरपालिकाले विशेष सम्मान कार्यक्रमको आयोजना गरेको बताए। उनले भने, “खेलाडीहरूको प्रतिभा, मेहनत र लगनशिलतालाई कदर गर्दै हामीले यो सम्मान गरेका हौं। आगामी दिनमा खेल क्षेत्रमा पूर्वाधार, प्रशिक्षण र अवसरको विकासमा नगरपालिका अझ गम्भीर भएर लाग्नेछ।”
प्रशिक्षक तेजेन्द्र देउवाले सीमित स्रोतसाधनका बाबजुद खेलाडीहरूले देखाएको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भविष्यमा अझ मेहनतका साथ तयारी गरिने बताए। उनले भने, “खेलाडीहरूले जुन समर्पण र अनुशासन देखाएर पदक जिते, त्यो अत्यन्त प्रेरणादायी छ। यस्तो सम्मानले उनीहरूको आत्मबल अझै उच्च हुनेछ।”
युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा यसपटक सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रह्यो। प्रदेशले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्दै अघिल्लो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई पछाडि पार्न सफल भएको हो। लुम्बिनी यसपटक तेस्रो स्थानमा सीमित रह्यो।
घोडाघोडी नगरपालिकाको नेतृत्व, स्थानीय प्रशिक्षकको मार्गदर्शन र खेलाडीको अथक परिश्रमले सुदूरपश्चिम प्रदेशको सफलता सुनिश्चित बनाएको भन्दै नगरवासीले पनि गर्व महसुस गरेका छन्।

२०८२ अषाढ २, सोमबार