काठमाडौँ: मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र इजरायलबीच विगत ७२ घण्टादेखि भीषण युद्ध चलिरहेको दाबी गरिएको छ। आइतबार इजरायलले इरानी विदेश मन्त्रालयमा आक्रमण गर्दा धेरै व्यक्ति घाइते भएको बताइएको छ। यसको एक दिनअघि इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण भएको थियो।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको र १ हजार २७७ जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ। यता, अमेरिकास्थित मानव अधिकारवादी समूहले भने इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ। इजरायलतर्फ पनि इरानले सयौं क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। यी आक्रमणहरूमा १४ जनाको मृत्यु भएको र ३८० जना घाइते भएका छन्।
सोमबार बिहान पनि दुवै देशबीच एक अर्काविरुद्धको आक्रमण जारी रहेको छ। इजरायलले फेरि एक पटक इरानको फोर्डो आणविक स्थलमा आक्रमण गरेको खबर छ। इरान इन्टरनेशनलको रिपोर्टअनुसार फोर्डो आणविक स्थल नजिकै ठूलो विस्फोट भएको छ। इजरायलले जुन १४ मा पनि उक्त स्थलमा आक्रमण गरेको थियो।
यसैबीच, इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) को गुप्तचर संगठनका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको बताइएको छ। उनका उप-हसन मोहकिक र अर्का गुप्तचर अधिकारी मोहसिन बघेरी पनि यी आक्रमणहरूमा मारिएका छन्। काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्काका रूपमा हेरिएको छ। यसअघि पनि IRGC का प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच चाँडै सम्झौता हुने दाबी गर्दै युद्ध रोक्ने बताएका छन्। तर, ट्रम्पले यस्तो बताए पनि युद्ध रोक्न उनले ठोस पहल गरेको खबर भने आएको छैन।मध्यपूर्वमा बढ्दो यो युद्धले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिमा गम्भीर असर पार्ने चिन्ता बढेको छ।
२०८२ अषाढ २, सोमबार