काठमाडौं : भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त जानकारी अनुसार, दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो र यो देहरादूनबाट केदारनाथतर्फ जाँदै थियो। दुर्घटनामा हेलिकप्टरमा सवार चालकसहित सबै ५ जनाको मृत्यु भएको बताइएको छ। मृतकहरूमा एक बच्चा पनि सामेल रहेको पुष्टि भएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाको खबर पाउने बित्तिकै उद्धारकर्ता र प्रहरी टोली घटनास्थल पुगेका छन्। दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको भारतीय अधिकारीहरूले बताएका छन्।
केदारनाथमा तीर्थयात्री बोक्ने हेलिकप्टर दुर्घटना भएको यो पहिलो घटना भने होइन। यसअघि पनि खराब मौसम र भौगोलिक जटिलताका कारण यस क्षेत्रमा हेलिकप्टर दुर्घटनाका घटनाहरू हुने गरेका थिए।
२०८२ अषाढ १, आईतबार