+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रमेश आचार्यको नेतृत्वमा घोडाघोडी क्रिकेट एकेडेमी: गाउँबाट राष्ट्रिय मञ्चसम्मको दौड

अत्रिदेव खबर
२०८२ जेष्ठ ३१, शनिबार

घोडाघोडी :  पश्चिम नेपालको क्रीकेट मानचित्रमा एउटा नयाँ अध्याय थपिएको छ – घोडाघोडी क्रिकेट एकेडेमी। मिति २०७६ सालको कार्तिक १९ गते विधिवत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सुरू भएको यो एकेडेमी, अहिले एक प्रेरणादायी यात्रा बन्दै गएको छ।

यस एकेडेमीको सुरुवातमा जम्मा १० जना खेलाडी मात्रै थिए। आज, त्यही बीउ अंकुरिएर ५५ जना प्रशिक्षार्थीलाई समेट्दै एक सशक्त संरचना बनिसकेको छ। रमेश आचार्य “आस्मान” को अथक प्रयास, निष्ठा र नेतृत्वमा यो एकेडेमी विकासको यात्रामा अघि बढिरहेको छ। उनको सपना सधैं स्पष्ट थियो — खेलमार्फत बालबालिकालाई कुलत र गलत बाटोबाट जोगाउने, अनि प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्‍याउने।

राष्ट्रिय स्तरसम्मको उडान
घोडाघोडी क्रिकेट एकेडेमीका सुरुवाती खेलाडीहरूमध्ये टेक रावत अहिले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् भने दिनेश रावत कर्णाली प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा चम्किसकेका छन्। टेक रावतको हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सको टिममा छनोट हुनु एकेडेमीका लागि गर्वको विषय हो।
गत वर्षदेखि एकेडेमीले अर्जुन ट्रफी राष्ट्रिय च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउन थालेको छ। यतिमात्र होइन, एकेडेमीले वर्षेनी ६ भन्दा बढी खुल्ला राष्ट्रिय प्रतियोगितामा आफ्ना टिम पठाइरहेको छ। यसको अर्थ, प्रशिक्षण मात्रै होइन, वास्तविक प्रतिस्पर्धाको अनुभव पनि एकेडेमीले सुनिश्चित गरिरहेको छ।

स्थानीय सहयोग र प्रेरणाको केन्द्र
रमेश आचार्यको समर्पणप्रति स्थानीय अभिभावक, व्यापारी, समाजसेवीहरू पनि गहिरोरुपमा प्रभावित छन्। स्थानिय अभिभावक चन्द्र प्रकाश आचार्य भन्छन्, “रमेशको यस्तो अदभूत लगाव देख्दा म अचम्मित हुन्छु। उसको प्रयास देखेर सहयोग नगरी बस्न सक्दिन।”

सुखडका व्यवसायी विनोद बुचामगर, जो महिस्मा होटल र बैशाली म:म सेन्टरका सञ्चालक पनि हुन्, उनले त एकेडेमीलाई जर्सी प्रायोजन नै गरिसकेका छन्। उनी भन्छन्, “जुन उर्जाका साथ रमेश आचार्य निरन्तर क्रीकेटलाई समय दिइरहेका छन्, त्यसको फल पक्कै देखिन्छ। हामी जस्ता स्थानीयको पनि कर्तव्य हो कि यस्तो अभियानमा साथ दिउँ।”

अहिलेको समयमा घोडाघोडी क्षेत्र खेलकुदमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। यस्तो बेला स्थानीय सरकारले पनि अब अपनत्वको भावनाका साथ खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक छ। यस्तो पूर्वाधार र योजनाबद्ध कार्यक्रममार्फत स्थानीय युवा शक्तिलाई राष्ट्र निर्माणको मुलधारमा ल्याउन सकिन्छ।

‘एकेडेमी होइन, भविष्य निर्माण केन्द्र’
घोडाघोडी क्रिकेट एकेडेमी अब केवल क्रिकेट सिकाउने ठाउँ मात्र होइन, यो भविष्य निर्माण केन्द्र बनिसकेको छ। रमेश आचार्यको सपना छ – “हाम्रो ठाउँका बालबालिका कुलतमा नफसून्, देशका लागि केही गरून्।” यही सपना बोकेर उनी निरन्तर श्रम गरिरहेका छन्।

यो केवल एक खेल संस्था होइन, घोडाघोडी क्रिकेट एकेडेमी एउटा दृष्टिकोण हो – जसले क्रीकेटलाई माध्यम बनाएर समुदाय, संस्कार र सम्भावनाहरूलाई जोडिरहेको छ। यदि स्थानीय सरकार, समाज र व्यवसायीहरूले साथ दिए, यो एकेडेमीबाट अर्को सन्दीप लामिछाने जन्मिन सक्ने सम्भावना अब कल्पना मात्र होइन, सम्भाव्य यथार्थ हो।

२०८२ जेष्ठ ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ