+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलम बम मेमोरियल इङ्लिस स्कुलमा ‘बुक फ्री डे’ उत्साहपूर्वक सम्पन्न

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

पहलमानपुर : शिक्षा भनेको केवल किताबी ज्ञानमा मात्र सीमित हुँदैन, जीवनमै उपयोगी सीप सिकाउने माध्यम पनि हो। यही सोचलाई आत्मसात् गर्दै घोडाघोडी नगरपालिका–१०, पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलमा आज‘बुक फ्री डे’कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई कराते प्रशिक्षक टेकराज सोडारीको विशेष प्रशिक्षणमा आत्मरक्षा तालिम दिइयो।विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र आकस्मिक परिस्थितिमा आफ्नो सुरक्षा गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको थियो। तालिमले बालबालिकामा निडरता र आत्मनिर्भरताको भावना बलियो बनाउने विश्वास अभिव्यक्त गरिएको छ।

त्यसैगरी,कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई कला र सिर्जनात्मक कार्यहरूमा संलग्न गराइएको थियो। उनीहरूले रंग, कागज, माटो, पुनःप्रयोग गर्न सकिने सामग्रीहरू प्रयोग गरी चित्र बनाउने, सजावटी सामग्री तयार पार्ने, हस्तकला अभ्यास गर्ने जस्ता विविध गतिविधिमा भाग लिए। यसले उनीहरूको सिर्जनात्मकता र हात–मुख समन्वय विकास गर्न सहयोग पुर्यायो।

कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल युवराज बमले प्रेरणादायी मन्तव्य दिदै भने,“आजको शिक्षाले केवल किताबका अक्षर सिकाउनु हुँदैन, जीवन चलाउने कला पनि सिकाउनुपर्छ। ‘बुक फ्री डे’ जस्तो कार्यक्रमले विद्यार्थीको बहुपक्षीय विकासमा टेवा पुर्‍याउँछ। यसले बालबालिकामा आत्मबल, अनुशासन र रचनात्मक सोचको विकासमा अत्यन्त सकारात्मक भूमिका खेल्छ।”

विद्यालयले यस किसिमको कार्यक्रमलाई प्रत्येक शैक्षिक वर्षमा निरन्तरता दिँदै आएको छ। शिक्षामा नवीन प्रयोगको माध्यमबाट विद्यार्थीलाई समग्र रूपमा सक्षम र जीवनोपयोगी बनाउने उद्देश्यले गरिएको यो कार्यक्रम अभिभावक र स्थानीयवासीबाट समेत प्रशंसित भएको छ।

कलम बम मेमोरियल इङ्लिस स्कुलको यो अभ्यास शिक्षा क्षेत्रमै एक उदाहरणीय र प्रेरणादायी पहल बनेको छ।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ