घोडाघोडी : न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुल, घोडाघोडी–१, सुखडले शुक्रवार ‘बुक फ्री डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। परम्परागत किताबी शिक्षाबाट केही भिन्न हुँदै विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा आवश्यक पर्ने सीपहरू सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको प्रारम्भमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल परशुराम भण्डारी (पीआर) ले विद्यार्थी र शिक्षकहरूलाई आचारसंहिता, अनुशासन, संस्कार तथा व्यवहारिक शिक्षाको महत्वबारे प्रेरणादायी प्रवचन दिनुभएको थियो। त्यसपछि प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई विभिन्न तहअनुसारको जीवन उपयोगी सीप सिकाइ कार्यक्रम सञ्चालन गरिएको थियो।
साना बालबालिकालाई साबुन–पानीले हात धुने सही तरिका र अक्षर सुधार गर्ने अभ्यास गराइयो भने कक्षा २ देखि ४ सम्मका विद्यार्थीलाई जुत्ताको तुना बाध्ने र टाइको गाठो कस्ने सीप सिकाइयो। यस्तै, कक्षा ५ देखि ८ सम्मका विद्यार्थीले गायन र चित्रकलाको अभ्यास गरे। त्यस्तै, कक्षा ९ र १० का विद्यार्थीहरूलाई कपडा पट्याउने र आइरन गर्ने तालिम प्रदान गरियो।
न्यू स्टार स्कुलले विगत केही वर्षदेखि बुक फ्री डे कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक शिक्षामा पनि अब्बल बनाउने उद्देश्यले सुरु गरिएको यो अभ्यासले सकारात्मक प्रभाव पारेको छ।
विद्यालयको यो प्रयासले स्थानीय तहको समेत ध्यान खिचेको छ। घोडाघोडी नगरपालिकाले न्यू स्टारको उदाहरणीय कार्यक्रमबाट प्रभावित हुँदै सम्पूर्ण विद्यालयमा यस्ता व्यवहारिक कार्यक्रमहरू लागू गर्ने तयारी थालेको जनाएको छ।
शिक्षालाई केवल किताबको चौघेरामा सीमित नराखी जीवन उपयोगी सीपमार्फत विद्यार्थीको समग्र विकासमा योगदान पुर्याउने न्यू स्टार स्कुलको यो अभ्यास एक प्रेरणादायी कदमका रूपमा स्थापित हुँदै गएको छ।
२०८२ जेष्ठ ३०, शुक्रबार