काठमाडौँ : इजरायल र इरानबीच बढेको तनावका कारण सुरक्षा अवस्था चिन्ताजनक बनेपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
आज, जुन १३ मा जारी गरिएको दूतावासको सूचनामा इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि जारी नयाँ निर्देशनहरू पालना गर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। दूतावासले नेपाली नागरिकहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन र त्यसलाई कडाइका साथ पालना गर्न सुझाव दिएको छ।
दूतावासले इजरायलको आधिकारिक आपतकालीन सूचना वेबसाइट नियमित रूपमा हेर्न, त्यहाँ दिइएका निर्देशनअनुसार चल्न र सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थानको नजिकै रहनसमेत विशेष आग्रह गरेको छ। इजरायली सेना र सुरक्षा निकायले आक्रमणपछिको प्रतिक्रिया तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै सर्वसाधारणका लागि सुरक्षा निर्देशिका कडाइका साथ लागू गरिरहेका छन्।
यो स्थितिमा अन्य विदेशी नागरिकसरह इजरायलमा कार्यरत, अध्ययनरत वा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको पनि दैनिक जीवन प्रभावित हुन सक्ने भएकाले विशेष सजगता आवश्यक देखिएको दूतावासले जनाएको छ। तेल अभिव, हाइफा, अशदोद, जेरुसलमलगायतका प्रमुख शहरहरूमा सतर्कता उच्च बनाइएको छ भने लामो दूरीको क्षेप्यास्त्र आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै बंकर र सुरक्षित आश्रयस्थलको उपयोगको लागि स्थानीय प्रशासनले तयारी तीव्र पारेको छ।
इजरायलमा करिब ५ देखि १० हजार नेपाली नागरिक रहेको अनुमान छ, जसमध्ये अधिकांश स्वास्थ्य, होम केयर, कृषि तथा होटल क्षेत्रमा कार्यरत छन्। युद्ध र आपतकालीन अवस्थाको असर उनीहरूको मानसिक र भौतिक सुरक्षामा पर्ने भएकाले नेपाल सरकार र दूतावासले आवश्यक समन्वय गरिरहेको जनाएको छ।
दूतावासले आपतकालीन अवस्थाको विकासक्रममा थप निर्देशन वा सहायता आवश्यक परेमा तुरुन्तै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको समेत जानकारी दिएको छ। त्यहाँस्थित नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, भीडभाडमा नजान र सरकारी निर्देशनको पूर्ण पालना गर्न पुनः आग्रह गरिएको छ। तनावको प्रभाव कति समयसम्म रहनेछ भन्ने यकिन नभए पनि तत्कालका लागि नेपाली नागरिकहरूले आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने दूतावासको भनाइ छ।
२०८२ जेष्ठ ३०, शुक्रबार