काठमाडौँ : सन् २०२५ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि मे महिनासम्म कुल ५ लाख १ हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यद्यपि, यो सङ्ख्या सन् २०२४ को सोही अवधिको तुलनामा भने कम हो। सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका थिए, जसले यस वर्षको आगमनमा सामान्य गिरावट आएको देखाउँछ।राष्ट्र बैंकको रिपोर्ट अनुसार, सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए। फेब्रुअरीमा यो सङ्ख्या बढेर ९६ हजार ८८० पुग्यो। मार्च महिनामा पर्यटक आगमन १ लाख २१ हजार ६८७ पुगेर सबैभन्दा बढी रह्यो। अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए भने मे महिनामा ८६ हजार २१६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपालले सन् २०२५ लाई नेपाल भ्रमण दशकका रूपमा मनाइरहेको छ, तर सुरुवाती पाँच महिनाको तथ्याङ्कले पर्यटक आगमनमा थप प्रयास आवश्यक रहेको सङ्केत गर्छ।
२०८२ जेष्ठ २७, मंगलबार