दार्चुला: सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा यस वर्ष गहुँको उत्पादनमा सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्र, दार्चुलाले जनाएको छ। केन्द्रका कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार, गत वर्षको तुलनामा ६५ मेट्रिक टन बढी गहुँ उत्पादन भएको छ।
यस वर्ष पाँच हजार ९५५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा एघार हजार ४१५ मेट्रिक टन गहुँ उत्पादन भएको छ। गत वर्ष पाँच हजार ९५० हेक्टर क्षेत्रफलमा ११ हजार ३५० मेट्रिक टन मात्रै उत्पादन भएको थियो। यो वृद्धि १.९२ प्रतिशत मेट्रिक टन उत्पादकत्व वृद्धि हो। समय–समयमा भएको हिउँदे वर्षाका कारण गहुँको उत्पादनमा केही मात्रामा वृद्धि भएको कार्यालय प्रमुख उपाध्यायले बताए।
उत्पादनमा सामान्य वृद्धि भए पनि परम्परागत बीउको प्रयोग, कृषि जनशक्तिको अभाव र रोग–कीराको संक्रमणका कारण अनुमान गरिएअनुसारको उत्पादन हुन सकेको छैन। जिल्लाको कुल खेतीयोग्य जमिन २९ हजार ५४४ हेक्टर क्षेत्रफलमध्ये २२ हजार ८२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ४९२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको थियो। जिल्लाको कुल जनसंख्या एक लाख ३३ हजार ३१० मध्ये ८४ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्।
मुख्य अन्नबालीका रूपमा मकै, धान, गहुँ र रैथाले बालीहरू जस्तै कोदो, राज्मा, फापर उत्पादन हुने दार्चुला खाद्य असुरक्षित जिल्ला हो। गत वर्ष जिल्लामा २६ हजार ७९५ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकोमा २२ हजार ७९५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो, जसले गर्दा ४ हजार १२० मेट्रिक टन खाद्यान्न अपुग भएको थियो। भौगोलिक हिसाबले हिमाल, पहाड र तराईको भू–बनावट भएको दार्चुलामा सुन्तला, ओखर, स्याउ, खुर्पानी, आरु, पुलम लगायतका फलफूल पनि उत्पादन हुन्छन्।
२०८२ जेष्ठ २६, सोमबार