काठमाडौं : दशकौंसम्म सुनसान रहेको पाल्पाको तिनाउस्थित वसन्तपुर डाँडा लुम्बिनी केबलकार सञ्चालनमा आएपछि एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ। विशेषगरी यस क्षेत्रमा रहेको प्रख्यात कामाख्यादेवी मन्दिर र अन्य पर्यटकीय पूर्वाधारका कारण यसले पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको उल्लेख्य संख्यामा वृद्धि गरेको छ।
लुम्बिनी केबलकार लिमिटेडले आफ्नो औपचारिक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो। बुटवल–३, बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो स्टेशन रहेको यस केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ।
कम्पनीका अनुसार, सञ्चालनमा आएको दुई वर्षको अवधिमा साढे तीन लाखभन्दा बढी पर्यटकले केबलकार यात्रा गरिसकेका छन्। यसमध्ये सबैभन्दा उल्लेखनीय पक्ष भनेको भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको हो। आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय पर्यटक आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए। दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटकले वसन्तपुरको भ्रमण गरिसकेका छन्। यद्यपि, तेस्रो मुलुकका पर्यटकको संख्या भने हालसम्म एक प्रतिशतभन्दा कम छ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुर डाँडामा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसँगै प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिर लगायतका संरचनाहरू पुनःनिर्माण गरी नयाँ बनाइएका छन्। यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन्। मन्दिरका मूल पुजारी सुरेश पौडेलका अनुसार, कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेका छन्।
वसन्तपुरमा केबलकारको माथिल्लो स्टेशनसहित जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, रेस्टुरेन्ट, सेमिनार हल लगायतका पर्यटकीय संरचनाहरू बनेका छन्। यी पूर्वाधारहरूले सुनसान डाँडोलाई दुई वर्षमै आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ। वसन्तपुरमा तराईको तुलनामा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लाग्दा न्यानो हुने भएकाले यो पर्यटकको रोजाइको थलो बनेको अपरेसन म्यानेजर सैंजूले बताए। धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारतको उत्तर प्रदेशका पर्यटकको पनि रोजाइमा पर्न सफल भएको छ।
२ किलोमिटर ६ सय मिटर लामो र २५ वटा गोन्डला रहेको लुम्बिनी केबलकार अष्ट्रियाको विश्वविख्यात डुपलमायर कम्पनीबाट बनेको हो। यसले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ। केबलकारले पाल्पा तिनाउ–३ र बुटवल वडा नं. ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट दिने गरेको छ। साथै, प्रत्येक टिकटबाट दुई पालिकालाई एक–एक प्रतिशत रकम करबापत दिएर स्थानीय विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ।
२०८२ जेष्ठ २६, सोमबार