काठमाडौं : नेपालमा मनसुनको आगमनसँगै डेंगु संक्रमणको जोखिम बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार, यस वर्षको जनवरी १ देखि जुन ८ सम्मको अवधिमा देशभरि एक हजार दुई सय ५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ७२ वटा जिल्लामा यो रोग फैलिसकेको छ।
ईडीसीडीका अनुसार, काठमाडौंमा सर्वाधिक १३२ जना संक्रमित देखिएका छन्। त्यसपछि कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रूपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित फेला परेका छन्। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जुनदेखि अगस्ट (असार–भदौ) सम्मको अवधिलाई डेंगु संक्रमणको उच्च जोखिमपूर्ण समयका रूपमा लिइने बताएका छन्। उनले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्हरूले धेरै पानी पर्ने आकलन गरेकाले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको बताए।
डा. दाहालका अनुसार, डेंगुलाई पूर्णरूपमा शून्यमा झार्न वा लामखुट्टे सखाप पार्न नसके पनि यसको संक्रमण र मृत्युदर भने घटाउन सकिन्छ। यसका लागि नागरिक, समुदाय, सरकारी-गैरसरकारी संस्था सबैको समन्वय र हातेमालो आवश्यक रहेको उनको भनाइ छ। डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। यसबाट बच्नका लागि व्यक्तिगत सतर्कता र वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्छ। विज्ञहरूले निम्न उपायहरू अपनाउन आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट बच्न सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउनुहोस्। घरवरपरका खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, र पानीको ट्याङ्की पूरै खाली गरेर नियमित सफा गरिरहने। पानीको भण्डारणमा सावधानी: पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने। आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टायर, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्ने।झुलको प्रयोग: सुत्ने बेला अनिवार्य रूपमा झुलको प्रयोग गर्ने। यी उपायहरू अपनाएर डेंगु संक्रमणको जोखिम कम गर्न सकिने डा. दाहालले बताएका छन्।
२०८२ जेष्ठ २६, सोमबार