काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज (२०८२ जेठ २७ गते, सोमबार) बिहान ६ बजेको जानकारी अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मुख्यतया सफा रहेको जनाएको छ।
महाशाखाका अनुसार, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
आज दिउँसोको मौसम पूर्वानुमान अनुसार, कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्।
२०८२ जेष्ठ २६, सोमबार