+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा दुई पुल निर्माण बजेट अभावले प्रभावित: स्थानीयलाई सास्ती

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

कञ्चनपुर: बजेट अभावका कारण कञ्चनपुरमा महत्वपूर्ण दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ। यसले गर्दा स्थानीय बासिन्दालाई आवतजावतमा थप कठिनाइ हुने भएको छ।

महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले दिएको जानकारी अनुसार, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र वेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले रोकिएको छ।

दोदा नदीमा पुल निर्माणका लागि २०७२ साल पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ साल पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पनि पुल पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हाल पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। सूचना अधिकारी जोशीले बजेट अभावले काम प्रभावित भएको भन्दै बाँकी काम सम्पन्न गर्न रु १० करोड बजेट माग गरिएको बताए।

त्यसैगरी, मुसेपानी खोला पुलमा बजेट नहुँदा पहुँचमार्ग निर्माण हुनसकेको छैन। २०७४ साल जेठ १० गते रु १५ करोड ४३ लाखमा राजेन्द्र लुम्बिनी जेभीसँग २०७७ जेठ १० मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो। पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भए पनि बजेट अभावले पहुँचमार्ग निर्माण हुन नसकेको सूचना अधिकारी जोशीले जानकारी दिए। समयमा पुल निर्माण हुन नसक्दा यसको म्याद पाँचपटक थप भइसकेको छ र अब २०८१ पुसभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको छ। तर, बजेट अभावकै कारण यो समयावधिमा पनि काम सम्पन्न नहुने देखिएको छ। पुलको बाँकी काम सम्पन्न गर्नका लागि रु चार करोड बजेट माग गरिएको जोशीले बताए। यी दुवै पुलको निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दालाई वर्षायाममा थप समस्या भोग्नुपर्ने देखिन्छ। बजेटको तत्काल व्यवस्था नभएमा यी महत्वपूर्ण पूर्वाधार आयोजनाहरू अझै लम्बिने निश्चित छ।

 

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ