काठमाडौं : नेपालमा आगामी मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपणसँगै मनसुनजन्य विपद्को जोखिम अत्यधिक हुने चेतावनी दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले एक दशक (२०७२-२०८१) को तथ्याङ्क सार्वजनिक गर्दै मनसुनजन्य विपद्का कारण २ हजार ३७ जनाको ज्यान गइसकेको र ४१९ जना बेपत्ता भएको जनाएको छ।
प्राधिकरणले आज जारी गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार, यस अवधिमा २ हजार ६४९ जना घाइते भएका छन् भने ५६ हजार ७०५ परिवार प्रभावित भएका छन्। साथै, करिब ३६ हजार ४७९ व्यक्तिगत घरधुरीमा क्षति पुगेको देखिन्छ।
वि.सं. २०७८: यस मनसुन अवधिमा देशमा औषत वर्षाभन्दा बढी (१,६०९ मि.मि.) वर्षा हुँदा २५८ जनाको ज्यान गएको थियो भने ६५ जना बेपत्ता भएका थिए। उक्त विपद्बाट १ हजार ८०४ परिवार प्रत्यक्ष प्रभावित भएका थिए। गत वर्षको मनसुन: गत वर्ष बाढी, पहिरो जस्ता विपद्मा परी ४९५ जनाले ज्यान गुमाएका थिए भने ६६ जना बेपत्ता भएका थिए। १० हजार ८२३ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको थियो, जसमा २४४ वटा पक्की तथा झोलुङ्गे पुल, १८९ वटा शैक्षिक संस्था, १५० वटा सरकारी कार्यालय, ८५ वटा जलविद्युत आयोजना र ८ हजार ८८८ निजी घर टहरामा पूर्ण क्षति समावेश छन्।
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। प्राधिकरणले यो प्रक्षेपणलाई गम्भीरतापूर्वक लिँदै विगतको तुलनामा बाढी, पहिरो, डुबान, कटान, भारी वर्षा तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम अत्यधिक हुने सम्भावना रहेको औंल्याएको छ। यसर्थ, सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
२०८२ जेष्ठ २३, शुक्रबार