+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिममा कोभिड परीक्षण किटको अभाव, सङ्क्रमणको जोखिम बढ्यो

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ परीक्षणका लागि आवश्यक किटको अभाव देखिएको छ। भारतबाट नेपाल फर्किनेहरूमा कोभिड सङ्क्रमण देखिन थाले पनि किट अभावका कारण थप परीक्षण हुन सकेको छैन, जसले प्रदेशमा सङ्क्रमणको जोखिम बढाएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले दिएको जानकारीअनुसार कैलालीको गौरीफन्टा नाकामा बुधबार भारतबाट आएका ३६ जनामध्ये तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि हुनेहरूमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन्। यी सङ्क्रमितहरूको नमुना पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँ पठाइएको छ।

जोशीले किट अभावका कारण थप परीक्षण गर्न नसकिएको र सङ्घ तथा प्रदेश सरकारसँग किट माग गरिएको बताए। छिमेकी मुलुक भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारण सुदूरपश्चिममा सङ्क्रमणको जोखिम बढेको उनको भनाइ छ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले पनि कोभिड परीक्षण किटको अभाव रहेको पुष्टि गरेका छन्। गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको र हेल्थ डेस्कबाट समेत किट माग भएको भए पनि आफूहरूसँग किट उपलब्ध नभएको उनले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तर, प्रमुख नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा हेल्थ डेस्क रहे पनि किट अभावका कारण प्रभावकारी परीक्षण हुन सकेको छैन। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कोभिडको लक्षण देखिएका बिरामीहरू आउने गरे पनि परीक्षण किटको अभावले परीक्षण हुन नसकेको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले जानकारी दिए। यो अवस्थाले सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमणको थप फैलावटको चिन्ता बढाएको छ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ