+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं-भैरहवा बसमै एक महिलाले जन्माइन् बच्चा: नौबिसेमा जन्मियो छोरा

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : काठमाडौंबाट भैरहवा जाँदै गरेको रात्रि बसभित्रै एक महिलाले बच्चा जन्माएकी छन्। आइतबार राति करिब पौने ११ बजेतिर काठमाडौंबाट छुटेको लु२ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा यात्रा गरिरहेकी महिलाले नौबिसे पुगेपछि छोरालाई जन्म दिएकी हुन्।

रुपन्देहीको खैरहनी जाँदै गरेकी ती महिलालाई श्रीमान्‌सहित बसमा चढेको केही समयपछि नै व्यथा लाग्न सुरु गरेको थियो। बस धनी अनुप शर्माका अनुसार उनीहरूको डेलिभरीको समय आएको जानकारी बस स्टाफलाई थिएन। “पेट दुख्न थालेपछि बस रोकिदिनुस् भन्नुभयो। बीचमा रोक्नेजस्तो ठाउँ पनि थिएन। नौबिसे पुगेपछि बस रोकियो,” शर्माले अनलाइनखबरलाई बताए, “अरु सबै यात्रुलाई ओरालेर बसभित्रै रहेका केही महिलाहरूको सहयोगमा उहाँले राति पौने ११ बजेतिर छोरो जन्माउनुभयो।”

बच्चा जन्मिएपछि बसकै स्टाफले सुत्केरी र शिशुलाई स्थानीयको सहयोगमा नजिकैको स्वास्थ्य चौकी पुर्‍याएका थिए। त्यहाँ सालनाल काटेर एम्बुलेन्समार्फत् काठमाडौं पठाइएपछि मात्र बस गन्तव्यतर्फ लागेको थियो। शिशुका बुवा राजकुमार अधिकारीले अहिले आमा र बच्चा दुवैको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको जानकारी दिए। डाक्टरले दिएको डेटभन्दा १०/१५ दिन अगाडि नै बच्चा जन्मिएको उनको भनाइ छ। “मेरो ससुराली पूर्वी नवलपरासीको अरुणखोलामा हो। ससुरालीमा सुत्केरी हुनुहुँदैन भन्ने गरिएकाले बुटवल खैरेनीमा रहेको दिदीसासुको घर जाँदै थियौं। तर, राति ११ः४० बजे बसभित्रै बच्चा जन्मियो,” अधिकारीले भने।

बच्चाको पछाडिको भागमा फोका उठेको जस्तो देखिए पनि डाक्टरहरूले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। अधिकारीले यस आकस्मिक अवस्थामा सहयोग गर्ने बस धनी, बसका स्टाफ र अन्य यात्रुहरूप्रति आभार व्यक्त गरे। बस धनी अनुप शर्माले पनि यात्रीको सक्दो सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ