काठमाडौं : कर्णाली विकास बैंकबाट करिब १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्डको छानबिनपछि फरार रहेका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले रायलाई काठमाडौंमा पक्राउ गरेको हो। यद्यपि, स्रोतका अनुसार उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकमा पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (CEO) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा ठूलो रकम अपचलन भएको थियो। बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले बैंकका अन्य बैंकमा रहेका खाताको रकम र बैंकको कोर बैंकिङ प्रणालीमा प्रविष्ट रकमबीच अन्तर निकाल्दा १ अर्ब २६ करोड रुपैयाँ अपचलन भएको पत्ता लगाएको हो।
बैंकको आन्तरिक छानबिनले यस अपचलनमा पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहकै संलग्नता देखाएको थियो। कर्जा दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रायलाई ५ लाख रुपैयाँ जरिवाना समेत गरेको थियो।
हाल कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समूहले बैंकको सञ्चालन र सुधारात्मक कार्य गरिरहेको छ। राजेन्द्रवीर रायको पक्राउपछि यस अपचलन प्रकरणमा थप सत्यतथ्य बाहिर आउने र दोषीहरूमाथि कारबाही हुने अपेक्षा गरिएको छ।
२०८२ जेष्ठ १८, आईतबार