+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना ३ वर्षभित्र पूरा हुने

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

कञ्चनपुर  : लामो समयदेखि बजेट अभाव र विभिन्न समस्याले सुस्त गतिमा रहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजना अब तीन वर्षभित्र पूरा गरिने भएको छ। बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको यो आयोजनाले पर्याप्त बजेट नहुँदा सुरुदेखि नै गति लिन सकेको थिएन। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि मात्र यसको निर्माण कार्यले गति लिएको थियो। बजेट अभावकै कारण आयोजनाको लागत बढ्दै गएपछि सरकारले यसलाई प्राथमिकतामा राखी आगामी तीन वर्षभित्र सक्ने लक्ष्य लिएको हो।

आयोजना प्रमुख योगेन्द्र मिश्रका अनुसार हालसम्म आयोजनाको प्रगति २६ प्रतिशत मात्रै छ। “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन,” उनले भने, “आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो।”

टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेमा हालसम्म २८ किलोमिटर मूल नहरको निर्माण सम्पन्न भएको छ। बाँकी २० किलोमिटर नहर निर्माणको काम जारी छ। लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। आयोजनाले २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य लिएको छ। हालसम्म यस आयोजनामा नौ अर्ब बजेट खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा करिब दुई अर्ब बजेट विनियोजन भएको थियो।

भारतीय पक्षसँगको समन्वयको चुनौती
नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछाड्दा समस्या भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख मिश्रले भारतीय पक्षसँग पटकपटक छलफल भए पनि “दिल्लीको आदेशविना पानी छाड्न सकिँदैन” भन्ने जवाफ आएको बताएका छन्। टनरपुरबाट पानी छाडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुनेछ। यो आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान छ।

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ। त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ। यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ।  हाल कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ। विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। यी चरणका आयोजनाले भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा प्रदान गर्दै आएका छन्।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ