काठमाडाैं : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा पहिलोपटक “प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता” यही जेठ २४ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने भएको छ।
प्रतिष्ठानकी निर्देशक गंगा दाहालका अनुसार, यसअघि तीन संस्करण साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेको प्रतिष्ठानले पहिलो पटक शारीरिक सुगठन खेललाई प्राथमिकता दिँदै राष्ट्रियस्तरको खुला प्रतियोगिता गर्दैछ।
राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद् (बागमती), नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह (६०, ६५, ७०, ७५ र ७५ केजी माथि) तथा महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा देशभरका विभिन्न क्लब, जिल्ला र प्रदेशबाट करिब १०० जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका खेलाडीहरूलाई समेत समावेश गरिनेछ।
प्रतियोगितामा पुरुषतर्फ प्रत्येक समूहका विजेतालाई क्रमशः ५० हजारदेखि १० हजारसम्म नगद पुरस्कार प्रदान गरिनेछ भने ओभरअल विजेतालाई “प्रथम मिस्टर प्रज्ञा स्मृति” को उपाधिसहित २ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। महिलातर्फ विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
यो प्रतियोगितामा विभिन्न विधाका पुरस्कारहरू सहित कुल १२ लाख १० हजार पुरस्कार राशी र ३५ लाख ३५ हजारको अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।
निर्देशक गंगा दाहालका अनुसार, दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र युवा नेतृत्व विकासका क्षेत्रमा निरन्तर सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
२०८२ जेष्ठ १७, शनिबार