कञ्चनपुर: कञ्चनपुर, क्रिकेटको उर्वर भूमि। नेपालको राष्ट्रिय क्रिकेट टोलीमा सधैँ यस जिल्लाका खेलाडीको बाहुल्यता रहँदै आएको छ। दीपेन्द्रसिंह ऐरी जस्ता विश्वकीर्तिमानी खेलाडीदेखि विनोद भण्डारी, प्रदीप ऐरी र भीम सार्की जस्ता परिचित नामहरू यसै माटोका उत्पादन हुन्। तर, विडम्बना! यति धेरै प्रतिभा हुँदाहुँदै पनि कञ्चनपुरमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माणको सपना वर्षौंदेखि अलपत्र छ।
२०७४ सालमा महेन्द्रनगरको कभर्डहल नजिकै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भयो। क्रिकेटप्रेमीहरू उत्साहित थिए। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण कार्य सुरु पनि भयो। तर, यो उत्साह धेरै टिक्न सकेन। विनियोजित बजेटको ठूलो हिस्सा माटो भर्ने काममै सकियो। जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार, “हामीले कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्यो भने हामीसँग खेल मैदान छैन। कभर्डहलमा एउटा खेल मैदान छ, त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ।”
समस्या त्यतिमा मात्र सीमित छैन। कभर्डहल क्षेत्रमा माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिइएको र क्रिकेट मैदानका लागि आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिएको छ। यो बेथिति र बजेटको दुरुपयोगले स्टेडियम निर्माणको कामलाई थप जटिल बनाएको छ।
प्राथमिकतामा नपरेको क्रिकेट
जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरी पनि क्रिकेटको उर्वर भूमि भए पनि राज्यको प्राथमिकतामा नपर्दा क्रिकेट स्टेडियम बन्न नसकेको स्वीकार्छन्। “राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेल मैदान बन्न सकेको छैन। पर्याप्त बजेटको अभाव र खेलाडीहरू सुविधा छैन, भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन,” गिरी भन्छन्।
कञ्चनपुरका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाइरहँदा उनीहरूले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन सकेका छैनन्। राष्ट्रिय टोलीदेखि हरेक उमेर समूहका टोलीमा कञ्चनपुरका खेलाडीको वर्चस्व हुँदाहुँदै पनि जिल्लामा खेल मैदान नहुनु आफैंमा दुःखद पक्ष हो। स्थानीय किशन थापा गुनासो गर्छन्, “राष्ट्रिय टिममा कञ्चनपुरकै खेलाडीको प्रतिनिधित्व धेरै छ, यहाँका खेलाडीले गोल्ड मेडलसम्म ल्याएर देशको नाम चिनाएका छन्। क्रिकेटमा दुर्लभ विश्वकीर्तिमान राख्ने खेलाडी दीपेन्द्र यहिको उत्पादन हुन् तर राज्यको ध्यान खेलाडीको वृद्धि विकासमा पुग्न सकेन।”
भविष्यको बाटो
अहिलेको पुस्तामा प्रतिभावान खेलाडीहरू प्रशस्त भए पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधाको अभावले खेलाडी पलायन भइरहेका छन्। देशमा क्रिकेटको क्रेज बढ्दै गएको सन्दर्भमा सरकारले सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट स्टेडियम निर्माण गर्नुपर्ने माग क्रिकेटप्रेमीहरूको छ। महेन्द्रनगरका स्थानीय मनोज पाण्डे भन्छन्, “सरकारले सातै प्रदेशमा क्रिकेट स्टेडियम निर्माण गरेर अब हुने नेपाल प्रिमियम लिगका खेल सबै ठाउँमा खेलाउनुपर्छ।”
कञ्चनपुरमा क्रिकेट स्टेडियम निर्माण केवल एउटा खेल मैदान बनाउने कुरा मात्र होइन, यो यहाँका प्रतिभावान खेलाडीहरूको सपनालाई साकार पार्ने र नेपालको क्रिकेटलाई अझ उचाइमा पुर्याउने एउटा महत्वपूर्ण कदम पनि हो। के सरकारले कञ्चनपुरको क्रिकेट सपनालाई वास्तविकतामा बदल्न थप सक्रियता देखाउला?
२०८२ जेष्ठ १०, शनिबार