+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहचालकदेखि बनकाइलो सम्मको सङ्घर्षपूर्ण यात्रा

अत्रिदेव खबर
२०८२ जेष्ठ ८, बिहिबार

कैलाली : कैलालीको चुरे गाउँपालिकामा २०५१ साल वैशाख १५ गते वेद प्रकाश जोशी र शारदादेवी जोशीका पाँच सन्तानमध्ये कान्छो सुपुत्रका रूपमा कृष्ण जोशीको जन्म भयो। सामान्य परिवारमा जन्मेका कृष्णले स्नातक तहसम्मको अध्ययन गरे पनि जीवनको पाङ्ग्रा घुमाउन भने फरक बाटो रोजे। गाउँको सामान्य परिवेशबाट सहचालक हुँदै काठमाडौँ–धनगढी रात्रि बसको चालक बनेका उनको जीवन यात्रा आफैँमा एउटा सङ्घर्षको महाकाव्य हो। चर्चित हास्य टेलिसिरियल ’मेरी बास्सै’ मा ’बनकाइलो’ को भूमिका निभाउँदै दर्शकको मनमा बस्न सफल कृष्ण, आज नेपाली कला क्षेत्रमा बहुमुखी प्रतिभाका धनी कलाकारका रूपमा स्थापित छन्। उनको यात्राले देखाउँछ— लगनशीलता, अठोट र निरन्तर प्रयासले कसरी एउटा सामान्य व्यक्तिले पनि असाधारण सफलता प्राप्त गर्न सक्छ।
सङ्घर्षका दिनहरू: धैर्य र अठोटको प्रतिमूर्ति
चुरेको काखबाट काठमाडौँसम्मको यात्रा कृष्णका लागि केवल भौगोलिक दूरी थिएन, यो त जीवनको एउटा महायात्रा थियो जहाँ उनले अनगिन्ती चुनौतीहरूको सामना गर्नुप¥यो। सुरुमा सहचालकको भूमिकाबाट जीवनको पाङ्ग्रा घुमाएका कृष्णले त्यसपछि काठमाडौँ–धनगढी रात्रि बसको चार वर्षे चालकको जिम्मेवारी सम्हाले । धुलो, धुवाँ र अनिद्राले लतपतिएका ती रातहरू उनका लागि केवल गाडी हाँक्ने समय मात्र थिएनन्, ती त जीवनको यथार्थसँग साक्षात्कार गर्ने प्रयोगशाला थिए। हरेक घुम्ती र मोडमा उनले धैर्यताको पाठ सिके, हरेक उकालो र ओरालोमा अठोटको बीउ रोपे। कति रात भोक भोकै गाडी चलाए, कति पटक जीवन र मृत्युको दोसाँधमा उभिए। तर पनि उनको मनमा पलाएको सपनाको दियो कहिल्यै निभेन। त्यो सङ्घर्षको ज्वालाले उनलाई थप खार्‍यो, फलामलाई आकार दिएझैँ उनको व्यक्तित्वलाई निखारता प्रदान ग¥यो।
कलाकारिताको उदय: ’बनकाइलो’ को अमर यात्रा
कृष्णको जीवनमा एउटा नयाँ अध्याय तब सुरु भयो जब उनी नेपाली हास्य टेलिसिरियल ’मेरी बास्सै’ मा ’बनकाइलो’ को भूमिकामा देखा परे। आठ वर्षसम्म निरन्तर निभाएको यो भूमिकाले उनलाई नेपाली कला क्षेत्रमा एउटा चम्किलो ताराका रूपमा स्थापित ग¥यो। ’बनकाइलो’ को रूपमा उनले दर्शकको मनमा गहिरो छाप छोडे, उनको नाम हाँसो र खुसीको पर्याय बन्यो। उनको अभिनयमा रहेको स्वाभाविकपन, सरल प्रस्तुति र ग्रामीण जीवनशैलीको यथार्थ चित्रणले आम दर्शकलाई लोभ्यायो। उनको संवाद बोल्ने शैली, शारीरिक हाउभाउ र अनुहारको भावले दर्शकलाई पेट मिचिमिची हँसायो, तर कहिलेकाहीँ गम्भीर सन्देश पनि प्रवाह ग¥यो। ’बनकाइलो’ केवल एउटा पात्र थिएन, यो त नेपाली गाउँघरको प्रतिविम्ब थियो, जहाँ आशा, निराशा, प्रेम र सङ्घर्ष सँगसँगै जिउँछन्।
सामाजिक सरोकार र योगदान: कलामार्फत जनचेतना
कृष्ण जोशीको कला यात्रा ’मेरी बास्सै’ मा मात्र सीमित रहेन। विभिन्न म्युजिक भिडियोहरूमा समेत उनको अभिनयको जादु चल्यो। महानायक राजेश हमालसँगको सहकार्यले उनको कलायात्रालाई थप उचाइमा पु¥यायो। नेपाली कलाकारिताका हास्य पिताका रूपमा परिचित मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँगको सहकार्यले उनको अभिनय यात्रामा स्वर्ण अक्षरहरू थप्यो। उनीहरूको साथमा काम गर्न पाउनु कृष्णका लागि एउटा ठुलो अवसर थियो, जहाँ उनले कलाको गहिराइलाई अझ नजिकबाट बुझ्ने मौका पाए। कलालाई समाज परिवर्तनको सशक्त माध्यम मान्ने कृष्णले नेपाल प्रहरी, खानेपानी मन्त्रालय, विद्युत् प्राधिकरण, निर्वाचन आयोग लगायतका ५० भन्दा बढी सामाजिक जनहितमा जारी सन्देशहरूमा सशक्त अभिनय गरेर समाज सेवामा पनि आफ्नो अतुलनीय योगदान दिए। उनको अभिनयले जनचेतना फैलाउन मद्दत पुग्यो, समाजमा सकारात्मक परिवर्तनका लागि उत्प्रेरणा जगायो। उनको प्रत्येक प्रस्तुतिमा समाजप्रतिको गहिरो संवेदनशीलता झल्किन्थ्यो।
वर्तमान व्यस्तता: सिर्जना र निर्देशनको नयाँ क्षितिज
आज कृष्ण जोशी विभिन्न टेलिसिरियलहरूको कथा लेखन र निर्देशनमा व्यस्त छन्। उनको रचनात्मकताले नयाँ आयामहरू खोजिरहेको छ, जहाँ उनी आफ्नो अनुभव र कल्पनाशीलतालाई पर्दामा उतार्दै छन्। सहचालकबाट सुरु भएको उनको यात्रा आज एक सफल कलाकार, लेखक र निर्देशकका रूपमा स्थापित भएको छ। यो यात्राले देखाउँछ कि लगनशीलता, समर्पण र अटुट प्रयासले कुनै पनि सपनालाई साकार पार्न सकिन्छ, चाहे त्यसका लागि जतिसुकै कठिन बाटो किन नहिँड्नु परोस्। कृष्ण जोशीको जीवन सङ्घर्ष, कला र सफलताको एउटा प्रेरणादायी गाथा हो, जसले हरेक नेपाली युवालाई आफ्नो सपना पूरा गर्नका लागि अगाडि बढ्न उत्प्रेरित गर्छ।

२०८२ जेष्ठ ८, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ८, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ