धनगढी: एक दशकअघिसम्म पुरुषको एकाधिकार मानिने सवारी चालकको पेसामा आज धनगढीका महिलाहरूले नयाँ क्रान्ति ल्याएका छन्। घरधन्दा र परिवारको जिम्मेवारीसँगै विद्युतीय रिक्साको ह्यान्डल सम्हालेर उनीहरूले न केवल आर्थिक आत्मनिर्भरता हासिल गरेका छन्, बरु समाजमा महिला शक्तिको बलियो पहिचान पनि स्थापित गरेका छन्। यो कथा हो, धनगढीका ती साहसी महिलाहरूको, जसले परम्परागत सोचलाई चुनौती दिँदै आफ्नो भाग्य आफैँ लेखिरहेका छन्।
अनिता दिक्तेल: एक प्रेरणादायी यात्रा
धनगढी नगरपालिका–९ की अनिता दिक्तेल यस क्रान्तिको एक ज्वलन्त उदाहरण हुन्। बिहान घरको काम सकेर विद्युतीय रिक्साको पाङ्ग्रा घुमाउन निस्कने अनिताको दिनचर्या विगत छ वर्षदेखि यही रिक्सामा बित्ने गर्दछ। बजारका गल्लीदेखि अत्तरिया, गुलरिया, क्याम्पस रोडसम्म यात्रु बोक्दै उनी दैनिक कम्तीमा हजार रुपैयाँ आम्दानी गर्छिन्। “यसमा तेल हाल्नु नपर्ने हुँदा धेरै खर्च लाग्दैन। विद्युत्मा चार्ज गर्दा खासै पैसा उठ्दैन। मर्मत गर्नु पर्दा मात्रै केही खर्च लाग्ने हो। कमाएको जति बचाउन सकिन्छ,” अनिता गर्वका साथ भन्छिन्। सुरुमा अर्काको रिक्सा चलाएकी उनले पछि आफ्नै रिक्सा किनेर यो पेसालाई थप व्यावसायिक बनाइन्।
अनिताको सफलताले उनको परिवारमा मात्र होइन, समाजमा पनि सकारात्मक प्रभाव पारेको छ। रिक्साबाट राम्रै आम्दानी भएपछि उनले भारतमा गाडी चालकको रूपमा काम गरिरहेका श्रीमान्लाई पनि स्वदेश फर्काएर यही पेसामा संलग्न गराइन्। “अहिले हामी दुबैको आम्दानीले घरखर्च गर्न, दुई छोराछोरीलाई पढाउन सकेका छौँ,” उनी भन्छिन्, “दुवै जना एउटै पेसामा हुँदा सजिलो पनि भएको छ।”
आत्मविश्वासको नयाँ उडान: भावना दिक्तेल र अन्य महिलाहरू
अनिताको देखासिकी गर्दै धनगढीका धेरै महिलाहरूले ई-रिक्सा चलाउने पेसा अँगालेका छन्। सोही ठाउँकी भावना दिक्तेल पनि तीमध्ये एक हुन्। विद्युतीय रिक्साले घरखर्च चलाउन सहज मात्र भएको छैन, स्वाभिमानपूर्ण जीवनयापन गर्न पाएकामा उनी गर्व गर्छिन्। “दुई/चार पैसाको लागि अब कसैसँग हात पसार्न परेन। आफ्नै पाखुराको कमाइ जति ठूलो अरूले दिएको हुँदैन,” भावना भन्छिन्।
यो पेसा महिलामैत्री हुनुका धेरै कारण छन्: चलाउन सजिलो, राम्रो आम्दानी, र घरधन्दा भ्याएर पनि आफ्नो समयअनुसार काम गर्न सकिने सुविधा। “हाम्रो लागि ड्राइभिङ एउटा नयाँ सीप हो। हामीमध्ये केहीलाई साइकल पनि चलाउन आउँदैन थियो तर अब हामी सडकमा आफैँ निर्धक्क भएर रिक्सा चलाउन सक्छौँ र यसले हाम्रो आत्मविश्वास पनि बढेको छ। मेहेनत र कोसिस गरे जे पनि सम्भव छ भन्ने लागेको छ,” भावनाको भनाइले महिलाहरूको बढ्दो आत्मविश्वासलाई झल्काउँछ।
सहकारीको भूमिका: सशक्तिकरणको आधार
तराई क्षेत्रका सहरी तथा अर्ध-सहरी क्षेत्रमा विद्युतीय रिक्साको लोकप्रियता बढ्दै जाँदा, सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। दिगो ऊर्जा चुनौती कोषमार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनर्प्राप्ति एवं सशक्तीकरण (रिप–ग्रीन) कार्यक्रमको सहयोगमा सहकारीले ई-रिक्साका लागि कर्जा तथा ड्राइभिङ तालिम सञ्चालन गरेको छ। यसले गर्दा महिलाहरूको सहभागिता ह्वात्तै बढेको छ र व्यावसायिक ड्राइभिङ केवल पुरुषहरूको मात्र पेसा हो भन्ने धारणामा परिवर्तन आएको छ।
सहकारीको धनगढी शाखाका प्रबन्धक जीवनबहादुर बमका अनुसार, गत माघ र वैशाखमा सञ्चालन गरिएको तालिमले महिलाहरूका लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गरेको छ। ५६ जना महिलालाई ई-रिक्सा चलाउने तालिम दिइएको छ भने कुल १२० जनालाई रिक्सा किन्नका लागि ऋण उपलब्ध गराइएको छ। “सहभागीहरू ड्राइभिङ लाइसेन्स प्राप्त गर्न उत्साहित छन् र धेरैजसोले आफ्नै ई–रिक्सा किनी पनि सकेका छन्,” बम भन्छन्।
वातावरणमैत्री विकास र सामाजिक रूपान्तरण:
ई-रिक्सा केवल आर्थिक सशक्तिकरणको माध्यम मात्र होइन, यो वातावरणमैत्री र किफायती यातायात समाधान पनि हो। स्वच्छ ऊर्जा प्रविधिको उपयोग र प्रवर्धन गर्ने उद्देश्यले सहकारीले सौर्य पानी तान्ने पम्प र बायोग्यासको पनि प्रवर्धन गर्दै आएको छ। धनगढीका महिलाहरूले ई-रिक्सा चलाएर केवल आफ्नो घरपरिवारको आर्थिक अवस्था सुधारेका छैनन्, बरु पुरुष-प्रधान मानिने क्षेत्रमा महिलाहरूको पहिचान स्थापित गर्दै सामाजिक रूपान्तरणको नयाँ अध्याय पनि लेखेका छन्। उनीहरूको यो साहस र मेहेनतले अन्य महिलाहरूलाई पनि आत्मनिर्भर बन्न र समाजमा आफ्नो स्थान बनाउन प्रेरित गरिरहेको छ।
२०८२ जेष्ठ ८, बिहिबार