कञ्चनपुर: एक समय धानखेत र सिमसार क्षेत्रमा सहजै देखिने अग्ला र सुन्दर सारस चराहरू कञ्चनपुर र कैलालीका आकाशबाट हराउँदै गएका छन्। यी ‘किसानका मित्र’ चराहरूको सङ्ख्यामा बर्सेनि आइरहेको डरलाग्दो गिरावटले स्थानीय समुदाय र संरक्षणकर्मीहरूलाई चिन्तित बनाएको छ।
नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार, सिमसार क्षेत्रको विनाश, खेतीमा रासायनिक मल र कीटनाशकको अत्यधिक प्रयोग, सिकार, अण्डा चोरी, जलवायु परिवर्तन र वातावरण प्रदूषणले सारसको अस्तित्व नै सङ्कटमा पारेको छ। “दुई दशकअघिसम्म धानखेतमा आहारा खोज्दै गरेको सारस देख्नु सामान्य थियो, हिउँदमा मटरका दाना खान खेतमा आउँथे,” शुक्लाफाँटा नगरपालिका–३ का थारु अगुवा दानसिंह दहित भन्छन्, “तर रासायनिक मल र विषादीको प्रयोगमा व्यापकता आएपछि सारस देखिनै छाडेका छन्।”
चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका थिए, तर पछिल्ला वर्षहरूमा यो सङ्ख्या ह्वात्तै घटेको छ। हाल कञ्चनपुरमा सारसको सङ्ख्या करिब १० देखि १५ मात्र रहेको अनुमान गरिएको छ। यो तथ्याङ्कले सारसको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँछ।
किसानका सहयोगी सारस: सारस चरा केवल सुन्दरताका प्रतीक मात्र होइनन्, यिनीहरू किसानका सच्चा मित्र पनि हुन्। चराविज्ञ डगौराका अनुसार, सारसले कीरा, फट्याङ्ग्रा, शङ्खेकीरा र सर्पलगायतका बालीनालीका हानिकारक जीवहरूलाई आहारा बनाउँछन्। “बालीनालीका हानिकारक मानिएका कीराहरू सारसले खाने भएकाले कृषक सहयोगी चराका रूपमा यसलाई लिन सकिन्छ,” डगौरा भन्छन्, “कीरा–फट्याङ्ग्रा नियन्त्रण हँुदा किसानले अन्नको उत्पादन बढी लिन सक्छन्।” यति मात्र होइन, हिंस्रक जनावर (बाघ, चितुवा, स्याल) नजिक आउन थाले ठूलो आवाजले कराएर जानकारी दिने भएकाले सारसलाई मानवमैत्री चराका रूपमा समेत लिइन्छ।
अग्लो खुट्टा र लामो घाँटी हुने सारसको शरीर सेतो, घाँटी खैरो र टाउको रातो हुने गर्दछ। यिनीहरूको उचाइ पाँचदेखि छ फिटसम्म र तौल छदेखि १२ किलोसम्म हुन्छ। जीवनभर एउटै जोडीमा रहने सारसहरू सिमसार र धानखेतमा गुँड बनाउन र आहारा खोज्न निर्भर हुन्छन्।
हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको सिमसार क्षेत्र र कहिलेकाहीँ बर्सातका बेला कैलालीको घोडाघोडी रामसार क्षेत्रमा सारस देखापर्ने गरेका छन्। तर, यी क्षेत्रमा पनि उनीहरूको उपस्थिति मुस्किल बन्दै गएको छ। चराविज्ञ डगौराले सारसलाई जोगाउन सिमसार क्षेत्रको संरक्षणमा पालिका र स्थानीय समुदायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। “यस चराको महत्वसँगै आनीबानी, व्यवहार र बासस्थानबारे जनचेतना जगाई स्थानीय बासिन्दालाई संरक्षणको क्षेत्रमा सहभागी गराउनुपर्छ,” उनले भने। कृषिमा रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल र जैविक विषादीको प्रयोगलाई बढावा दिन किसानलाई उत्प्रेरित गराउन आवश्यक रहेको जानकारहरू बताउँछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलाई संरक्षित पन्छीका रूपमा राखिएको छ भने अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ। रुपन्देही, कपिलवस्तु र नवलपरासीमा सारसको सङ्ख्या छ सय बढी रहे पनि कञ्चनपुर-कैलालीमा उनीहरूको भविष्य अनिश्चित देखिन्छ। यी सुन्दर र उपयोगी चराहरूको संरक्षणका लागि अब ढिलाइ गर्नु हुँदैन।
२०८२ जेष्ठ ८, बिहिबार