+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षामा  ‘संस्कार र जीवन विज्ञान’को क्रान्ति : न्यू स्टार स्कुलको सातदिने विशेष अभियान सम्पन्न

अत्रिदेव खबर
२०८२ जेष्ठ ७, बुधबार

सुखड : तीन दशकदेखि गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले निजी शिक्षाको ढाँचामा क्रान्तिकारी सोच प्रस्तुत गर्दै सातदिने विशेष अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई लक्षित गरी “पूर्वीय दर्शन, मानव जीवन र शिक्षाको एकीकरण” भन्ने मूल उद्देश्यसहित संस्कारसहितको शिक्षाको खाका प्रस्तुत गर्ने प्रयास गरेको हो।

कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दी रहनुभएको थियो। उहाँले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी, जीवनका मूल्य, व्यवहारिक ज्ञान र संस्कारसँग जोडेर प्रस्तुत गर्दा मात्र समाजले असल नागरिक पाउने विश्वास व्यक्त गर्नुभयो।

प्रशिक्षक श्री सरितानन्दीको भनाइमा “बुद्धि बनाउँछ इन्जिनियर, तर संस्कार बनाउँछ असल मानव। शिक्षामा संस्कार मिसाएर मात्रै हामी समुन्नत समाज निर्माणतर्फ अघि बढ्न सक्छौं।”

यस अभिमुखिकरणमा शिक्षकहरूको भूमिकालाई विशेष रूपमा सम्बोधन गरियो। शिक्षकले विद्यार्थीको चरित्र निर्माण, सामाजिक व्यवहार र जीवनमूल्य सँग जोडिनुपर्ने आवश्यकता कार्यक्रममा जोड दिइएको थियो। साथै, अभिभावकहरूले शिक्षा केवल अंकको होड होइन, जीवन निर्माणको प्रक्रिया हो भन्ने बुझ्नुपर्ने विचार प्रस्तुत गरियो।

विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पीआर)ले भने: “हामी किताब पढाउने मात्र होइन, सन्तानको जीवन बनाउने प्रयत्न गर्दैछौं। आजको शिक्षा प्रतिस्पर्धी मात्र होइन, मानवीय हुन जरुरी छ। निजी शिक्षामा संस्कार र जीवन विज्ञानलाई मिसाउने हाम्रो प्रयासले परिवर्तन ल्याउनेछ।”

सात दिनसम्म चरणबद्ध रूपमा सञ्चालन भएको कार्यक्रममा अन्त्यमा सहभागी सबैलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरियो।

निजी शिक्षालाई नवदिशा दिने, शिक्षालाई केवल पठनपाठन होइन, जीवनयापनको कौशल बनाउने न्यू स्टार स्कुलको यो प्रयास निजी शिक्षा क्षेत्रमा अनुकरणीय अभ्यास बन्ने सम्भावना छ।

२०८२ जेष्ठ ७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ