काठमाडौं : नेपालमा चट्याङको जोखिम भयावह बन्दै गएको छ। पछिल्लो चार वर्षमा यो प्राकृतिक प्रकोपबाट दुई सय ३७ जनाले ज्यान गुमाएका छन् भने नौ सय आठ जना गम्भीर घाइते भएका छन्। कोशीदेखि सुदूरपश्चिम र कर्णालीदेखि मधेशसम्म फैलिएको चट्याङको जोखिमले मुलुकभर त्रास सिर्जना गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार नेपाल विश्वमा चट्याङको उच्च जोखिम भएको पाँचौं राष्ट्र हो। प्राधिकरणको तथ्यांक अनुसार २०७८ साउन १ देखि २०८२ जेठ ५ सम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन्, जसबाट एक हजार ६०७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका छन्।
चट्याङले घर, गोठ र अग्ला टावरलाई निशाना बनाउने गरेको छ। बर्खायाममा खेतबारीमा काम गर्ने किसान र सर्वसाधारण यसबाट बढी प्रभावित भएका छन्। तथ्यांकलाई केलाउने हो भने कोशी प्रदेशमा चट्याङका घटना बढी भए पनि मानवीय र भौतिक क्षति भने लुम्बिनी प्रदेशमा अधिक देखिएको छ। विगत चार वर्षमा कोशीमा ५१ जनाको मृत्यु र रु एक करोड ६० लाखभन्दा बढीको धनमाल क्षति भएको छ भने लुम्बिनीमा ५४ जनाले ज्यान गुमाएका छन् र तीन करोड ४९ लाख बराबरको भौतिक क्षति भएको छ। अन्य प्रदेशमा पनि मानवीय र भौतिक क्षतिको आँकडा डरलाग्दो छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल नेपालमा विपद्बाट हुने जनधनको क्षतिमा चट्याङ दोस्रो ठूलो कारण भएको बताउँछन्। प्रि-मनसुन र मनसुन अवधिमा वायुमण्डल अस्थिर हुने भएकाले चट्याङको जोखिम उच्च हुन्छ। नेपालको भौगोलिक बनावट (हिमाल, पहाड र तराई) का कारण पनि यहाँ चट्याङ बढी पर्ने गरेको उनको भनाइ छ।
यद्यपि, चट्याङलाई रोक्न नसकिए पनि यसबाट हुने क्षतिलाई ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको ठहर छ। सहप्राध्यापक सिग्देलका अनुसार सचेतना नै यसको सबैभन्दा प्रभावकारी उपाय हो। विकसित मुलुकको तुलनामा नेपालमा चेतना र प्रविधिको अभावका कारण मानवीय र भौतिक क्षति बढी भएको उनको विश्लेषण छ। अध्ययनले देखाए अनुसार ८० प्रतिशत मानवीय क्षति काम विशेषले खुला स्थानमा गएका मानिसहरूमा भएको छ।
मनसुनको समयमा मध्याह्नपछि चट्याङ बढी पर्ने भएकाले सो समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने जस्ता कार्य सकेसम्म अगावै गर्नुपर्ने सुझाव विज्ञहरूको छ। मेघगर्जनको समयमा खुला स्थानमा नजानु पनि उत्तिकै महत्वपूर्ण छ।
जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिन जडान गरेका उदयपुर, पाल्पा र सुर्खेतका राडार उपकरण हाल बिग्रिएका छन्। यदि यी राडार मर्मत गरी सञ्चालनमा ल्याएमा चट्याङ पर्नुभन्दा आधा घण्टादेखि एक घण्टाअघि नै सूचना पाउन सकिने जलवायु विज्ञ सिग्देल बताउँछन्।
घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङ प्रतिरोधी उपकरण जडानलाई अनिवार्य गर्ने हो भने पनि जोखिम कम गर्न सकिन्छ। स्रोतसाधन सम्पन्न स्थानीय तहले वडा र टोलसम्म चट्याङबाट जोगिने उपायहरूबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। अब पनि सचेतता र पूर्वतयारीलाई बेवास्ता गर्ने हो भने चट्याङले हरेक वर्ष थप मानवीय र भौतिक क्षति निम्त्याउने निश्चित छ।
२०८२ जेष्ठ ६, मंगलबार