सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा अवस्थित न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो तीन दशक लामो गुणस्तरीय र संस्कारयुक्त शिक्षाको यात्रामा अर्को नयाँ अध्याय थपेको छ। विद्यालयले आज कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
विषयगत शिक्षा, मूल्यमा आधारित ज्ञान, र संस्कार विकासमा केन्द्रित यस कार्यशाला दुई सेसनमा सम्पन्न भएको थियो। विद्यार्थीहरूमा आत्मज्ञान, अनुशासन, नैतिकता तथा असल कर्म र स्वावलम्बनका आधारभूत पक्षमा उत्प्रेरणा जगाउँदै जीवन उपयोगी शिक्षा प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेको संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पीआर) ले बताउनुभयो।
कार्यशालाका प्रमुख प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दीले बहुप्रतिभाशाली र प्रेरणादायी प्रवचनमार्फत विद्यार्थीहरूलाई प्रभावकारी सन्देश दिनुभयो। उहाँको प्रशिक्षणले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, र जीवनबोधमा सकारात्मक परिवर्तन ल्याउने विश्वास प्रधानाध्यापक भण्डारीले व्यक्त गर्नुभयो।
प्रशिक्षक योगिनी श्री सरितानन्दीको प्रभावशाली शैलीले विद्यार्थीहरूमा आत्मचिन्तन र जीवन उपयोगी मार्गदर्शनको बीजारोपण गरेको अनुभूति कार्यक्रमको सहभागीहरूले गरेका थिए। विद्यार्थीहरूको सकारात्मक सोच र संस्कारित आचरणको विकासमा यस प्रकारका कार्यशालाहरू महत्वपूर्ण योगदान दिने विद्यालयले जनाएको छ।
शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन, संस्कार, नैतिकता, र जीवन उपयोगी सीपको संयोजन नै असल शिक्षा हो भन्ने सन्देश दिन न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले यस कार्यशालालाई विशेष प्राथमिकता दिएको हो। विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्याउने यस्ता कार्यक्रमले भविष्यमा समेत निरन्तरता पाउने विद्यालयको योजना रहेको छ।
२०८२ जेष्ठ ५, सोमबार