सुखड : कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा विगत तीन दशकदेखि संस्कारसहितको गुणस्तरीय जीवनोपयोगी शिक्षा प्रदान गर्दै आइरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले प्री-प्राइमरी शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पीआर) का अनुसार, उक्त प्रशिक्षणले शिक्षकहरूको शिक्षण सीपलाई निखार्दै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले मात्र शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै शिक्षकहरूको दक्षता अभिवृद्धिमा ध्यान केन्द्रित गरेको छैन, बरु विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र नैतिकताको प्रवर्धनमा पनि निरन्तर प्रयत्नरत छ। यसै सन्दर्भमा, विद्यालयले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूका लागि संस्कार, आत्मज्ञान, अनुशासन र नैतिकता साथै असल कर्म र स्वावलम्बनसम्बन्धी उत्प्रेरणा कार्यक्रमसमेत सञ्चालन गरेको थियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वासलाई मजबुत बनाउन र उनीहरूमा सामाजिक जिम्मेवारीको भावना विकास गर्न ठोस भूमिका खेलेको प्रिन्सिपल भण्डारीले जानकारी दिनुभयो।
विद्यालयले शिक्षण पद्धतिमा नविनता र प्रभावकारितालाई विशेष जोड दिँदै प्रभावकारी शिक्षण (Effective Teaching) तालिमसमेत आयोजना गरेको थियो। यस तालिमले शिक्षकहरूको पाठ्यक्रम योजनासँगै विद्यार्थीमैत्री शिक्षण पद्धतिमा नवीन दृष्टिकोण प्रस्तुत गरेको छ। कक्षा व्यवस्थापनका प्रभावकारी विधि, विद्यार्थीहरूको सिकाइ प्रक्रियामा विविधताका दृष्टिकोण र सिर्जनात्मक शिक्षण प्रविधिको प्रयोगबारे ज्ञान प्रदान गर्दै तालिम प्रभावकारी ढंगले सम्पन्न भयो।
प्रशिक्षण कार्यक्रमका प्रशिक्षक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दी हुनुहुन्थ्यो। बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्वकी धनी योगिनी सरितानन्दीले जीवनोपयोगी सीप र शिक्षामा संस्कारको महत्त्वबारे प्रखर प्रशिक्षण दिनुभयो। उहाँको प्रशिक्षणले सहभागी शिक्षकहरूमा नयाँ ऊर्जा र उत्साह प्रदान गरेको विद्यालयले जनाएको छ।
न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको यस्तो पहलले शिक्षकहरूमा मात्र होइन, विद्यार्थीहरूमा पनि सकारात्मक प्रभाव पार्दै विद्यालयको शैक्षिक धरातललाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। विद्यालयले आगामी दिनमा पनि यस्तै प्रभावकारी तालिम तथा उत्प्रेरणात्मक कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
२०८२ जेष्ठ ४, आईतबार