सुखड : निरन्तर तीन दशकदेखि संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको घोडाघोडी नगरपालिका–१ स्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले यस शैक्षिक यात्रालाई अझ सशक्त र सबल बनाउने उद्देश्यले ‘असल अभिभावक कार्यक्रम’ सम्पन्न गरेको छ ।
कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रमा जैशी पौडेल सभापतित्वमा भएको थियो । प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख श्री खडक रावतले सान्दर्भिक र गहकिलो मन्तव्य व्यक्त गर्दै शिक्षा क्षेत्रको प्रगतिमा अभिभावकको महत्वपूर्ण भूमिका र जिम्मेवारीबारे विचार प्रस्तुत गर्नुभयो। उहाँले विद्यालय र अभिभावकबीचको समन्वयले मात्र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य संस्थापक/प्रिन्सिपल श्री परशुराम भण्डारी (पिआर)ले दिनुभएको थियो। उहाँले विद्यालयको लामो शैक्षिक योगदान र भविष्यका योजनाबारे जानकारी गराउँदै अभिभावकहरूको महत्वपूर्ण सहयोगलाई उजागर गर्नुभयो।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दीको प्रेरणादायी प्रवचनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। अभिभावक उत्प्रेरणा र पुर्वीय दर्शनमा आधारित उहाँको गहन प्रवचनले उपस्थित अभिभावकहरूको मन छुने प्रभाव पारेको थियो।
कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो। विद्यालय र अभिभावकबीचको आपसी सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने अपेक्षासहित कार्यक्रमको सफल समापन गरिएको थियो।