पहलमानपुर – कैलालीको घोडाघोडी नगरपालिका–१२ को कोटा क्षेत्रमा निर्माणाधीन कोटा सप्तरङ्गी पार्कको वार्षिक उत्सव विशेष उत्साह र उल्लासका साथ सम्पन्न भएको छ। सो अवसरमा घोराही सामुदायिक वनको नवनिर्मित भवन र पार्क क्षेत्रभित्र निर्माण भएको दुर्गा मन्दिरको पनि एकैसाथ उद्घाटन गरिएको छ।
घोराही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आकाश परियारको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावत प्रमुख अतिथि तथा वडा नं. १२ का वडा अध्यक्ष रामदुलारे चौधरी र सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम विशिष्ट अतिथि थिए। प्रमुख अतिथि रावतले रिबन काटेर वन भवन र मन्दिरको उद्घाटन गरे।
१० बिगाहाको क्षेत्रफलमा फैलिएको कोटा सप्तरङ्गी पार्क पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने र घुम्न आउनेलाई मनोरञ्जन दिने उद्देश्यले निर्माण भइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ अघि बढाइएको यो प्रयास समुदायको गर्वको केन्द्र बन्दै गएको छ।
समारोहमा परम्परागत सामाजिक एकता बलियो बनाउने उद्देश्यले कोटा गाउँका चिराकीलाई सामुदायिक वन उपभोक्ता समूहले साइकल र हाते माइक वितरण गरेको छ। चिराकीले सूचना प्रसारण र बडघरको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, संघ–संस्थाका सदस्य र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो। वन उपभोक्ता समितिका उपाध्यक्ष अनिल चौधरीको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रमको कुशल सञ्चालन सचिव वन्दना चौधरीले गरेकी थिइन्।
२०८२ बैशाख १९, शुक्रबार