प्रकाश मिश्र : घोडाघोडी नगरपालिका, अहिले विकासको उज्यालो किरणसँगै अघि बढिरहेको छ । चुरे पहाडको काखदेखि समथर तराईसम्म फैलिएको यो नगर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आधुनिक विकास योजनाको संगम बन्दै गएको छ ।
नगरपालिकाको नामकै गर्व बोकेको ‘घोडाघोडी ताल’ केवल एक जलाशय होइन—त्यो इतिहास हो, संवेदना हो, र भविष्यप्रतिको भरोसा हो । रामसार सूचीमा सूचीकृत यस ताल क्षेत्र शान्त छ, तर त्यसको गहिराइमा सिंगो सुदूरपश्चिमको पहिचान समेटिएको छ । हिउँदमा साइबेरिया र मंगोलियादेखि आइपुग्ने पाहुना चराहरुको स्वागत गर्दै यो ताल हरेक वर्ष विश्वकै ध्यान खिच्न सफल हुँदै आएको छ ।
तालमात्र होइन, नगरपालिका भित्र रहेका अरु साना ताल, हरियाली जंगल र ४५० भन्दा बढी चराको बासस्थानले यस क्षेत्रलाई जैविक विविधताको अजस्र स्रोत बनाएको छ । प्रकृतिको काखमा बसेको यस नगरलाई अब योजनाबद्ध विकासको गतिमा लैजान पालिकाले बहुआयामिक योजनाहरू अघि बढाउन जरुरी छ ।
शिक्षाको क्षेत्रमा नगरपालिकाले प्रभावशाली कदम चालेको छ । यहाँ ५७ सामुदायिक, ३६ संस्थागत विद्यालय र ३ वटा क्याम्पस सञ्चालनमा छन् । डिजिटल शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षामा पहुँच, साक्षरता कार्यक्रम र गुणस्तरीय शिक्षाको पहिचानले घोडाघोडीलाई सुदूरपश्चिमकै शैक्षिक केन्द्र बनाउन थालेको छ । खेलकुदमा समेत अग्रणी भूमिका निर्वाह गरेको पालिकाले राष्ट्रिय स्तरमा पुरस्कार जित्न सफल भएको छ, जुन यहाँको युवा सशक्तिकरणको प्रमाण हो ।
स्वास्थ्यको हकमा पनि घोडाघोडी नगरपालिका उदाहरणीय बन्दै गएको छ । वडा नम्बर २ मा सञ्चालित १५ शैयाको नगर अस्पतालमा तीन जना एमबिबिएस डाक्टरसहित विविध स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । अत्यावश्यक सेवा, प्रसूति सुविधा, प्रयोगशाला, एम्बुलेन्स लगायत सेवा २४ घण्टा उपलब्ध छन्। पहिले बाढी र सडक अभावले उपचारबाट वञ्चित भएका नागरिक अहिले सहज पहुँच पाउँदा खुसी छन्।
पूर्वाधार विकासमा पनि नगरपालिकाले उचाइ लिएको छ । हिजो हिलाम्मे बाटोमा लड्दै हिँडेका पाइलाहरू आज पक्की सडकमा गन्तव्यतर्फ दौडिरहेका छन् । झोलुंगे पुलदेखि मोटरेबल पुलसम्मको निर्माणले गाउँलाई बजार र शहरसँग जोडेको छ ।
आर्थिक दृष्टिकोणले कृषि, पशुपालन र नदीजन्य पदार्थहरू नगरको प्रमुख आम्दानीको स्रोत बनेका छन् । धान, मकै, तरकारी लगायतको उत्पादनले बजारमा व्यापक माग पाएको छ । सहकारी संस्थाको प्रवद्र्धन र कृषकलाई अनुदान दिइ आर्थिक आत्मनिर्भरता निर्माण गर्ने पहल गरिएको छ ।
सुखड, साडेपानी र पहलमानपुर बजारहरू नगरको आर्थिक मेरुदण्ड हुन्, जसमा सुखड प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित छ । यही वडामा रहेको नगरपालिकाको कार्यालयबाट समग्र प्रशासनिक सञ्चालनसमेत प्रभावकारी ढंगले भइरहेको छ।
जलवायु परिवर्तन, वन विनाश र फोहोर व्यवस्थापन जस्ता चुनौतीहरूसँग जुध्दै नगरपालिकाले वृक्षरोपण, जैविक कृषि प्रवद्र्धन, र वातावरणीय सन्तुलनमा ध्यान दिदै आएको नगरप्रमुख खडक रावत बताउनुहुन्छ । पर्यटन प्रवद्र्धनका लागि गुरु योजना तयार गरी सांस्कृतिक सम्पदा, पूर्वाधार र सेवाक्षेत्र विस्तारका परियोजनाहरू कार्यान्वयनमा ल्याइएको छ ।
नगरप्रमुख खडक रावत भन्नुहुन्छ “घोडाघोडी नगरपालिका केवल प्राकृतिक सौन्दर्यमा सीमित छैन, यो सम्भावनाहरूको महासागर हो । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन—सबै क्षेत्रमा नगरवासीको सहभागिता र विश्वासका आधारमा हामी योजनाबद्ध विकासतर्फ अघि बढिरहेका छौं। हिजोका अभावहरू आजका अवसर बन्न थालेका छन्, अनि आजका कदमहरू भोलिको समृद्धिको जग बन्दै छन्। हामी ‘हरित, शिक्षित र समृद्ध घोडाघोडी’ को परिकल्पनालाई व्यवहारमा उतार्न निरन्तर लागिरहेका छौं।”
२०८२ बैशाख १९, शुक्रबार