+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षक आन्दोलन

दबाबकै बीच सरकार सहमतितर्फ, तर आन्दोलन नरोकिने

अत्रिदेव खबर
२०८२ बैशाख १६, मंगलबार

काठमाडौं – लामो समयदेखि चलिरहेको शिक्षक आन्दोलनले सरकारलाई ठूलो दबाबमा पारेको छ। २८ दिनदेखि निरन्तर दबाब सिर्जना गर्दै आएको शिक्षक महासंघसँग सरकार अन्ततः सहमतितर्फ उन्मुख देखिएको छ।

सोमबार दिनभर र राती अबेरसम्म शिक्षामन्त्री रघुजी पन्त र शिक्षक नेताहरूबीच भएको वार्ताले सहमतिको वातावरण तयार पारे पनि आन्दोलन भने तत्काल फिर्ता हुने छैन। महासंघले केही मागमा समझदारी नजिक पुगेको स्वीकार गरे पनि आन्दोलनको औपचारिक अन्त्यबारे अझै स्पष्ट निर्णय गर्न सकेको छैन।
महासचिव तुलाबहादुर थापाले बैठक स्थलबाट ‘छलफल सकारात्मक छ, तर आन्दोलन अझै कायम रहनेछ’ भन्ने सन्देश दिएका छन्। यसैबीच, आजै कांग्रेस र एमालेका शीर्ष नेतासँग पनि शिक्षक महासंघले थप वार्ता गर्ने तयारी गरेको छ, जसले राजनीतिक तहबाट दबाब अझ बढाउने संकेत देखिएको छ।
शिक्षामन्त्री पन्तले ‘आजै सहमतिमा पुग्ने प्रयास’ जारी रहेको बताए पनि मन्त्रालयभित्रै स्रोतहरूले तत्काल कार्यान्वयन योग्य मागहरू क्याबिनेटबाट अनुमोदन गराउने तयारी भइरहेको बताएका छन्। तर ठूला संरचनागत सुधार र ऐन निर्माणजस्ता दीर्घकालीन मुद्दामा समय लाग्ने स्पष्ट संकेत देखिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्रालयबाट निस्किँदै ‘केही बुँदामा सहमति भए पनि आन्दोलन रोकिने अवस्था अझै बनेको छैन’ भन्दै आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने जनाएका छन्।
यसले सरकारलाई छिटो निर्णय गर्न बाध्य पारे पनि, शिक्षक आन्दोलन अझै केही दिन शिक्षाक्षेत्रको मुख्य बहसको विषय रहने देखिएको छ।

२०८२ बैशाख १६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ