काठमाडौँ : शिक्षा क्षेत्रका मेरुदण्ड शिक्षकहरू आफ्ना मागका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा राज्य सत्ता बलप्रयोगमा उत्रिएको छ। नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि प्रहरीले निर्मम लाठीचार्ज र पानीको फोहोरी प्रहार गरेपछि आन्दोलन झन् उग्र बन्दै गएको छ।
प्रहरीको दमनबाट एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, गम्भीर घाइते भएकाहरूलाई सिभिल अस्पतालमा उपचारका लागि लैजानु परेको छ भने सामान्य घाइतेहरू आन्दोलनस्थलमै प्राथमिक उपचार गराइएका छन्।
राज्यको यो कठोर व्यवहारपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आज दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा महासंघका शीर्ष नेताहरू, जिल्ला अध्यक्षहरू र आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएर समग्र आन्दोलनको भावी रणनीति तय गरिनेछ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनरत शिक्षकहरू पनि प्रतिकारमा उत्रिएका थिए। राज्यले शिक्षाजस्तो संवेदनशील क्षेत्रका शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि बल प्रयोग गर्नु गम्भीर र चिन्ताजनक प्रवृत्ति हो भन्ने आलोचना चुलिएको छ।
अब आन्दोलन कता मोडिन्छ भन्ने चासो चुलिँदै गएको छ। महासंघको आजको बैठकले आन्दोलनलाई अझ निर्णायक बनाउने तयारी गरेको बुझिएको छ।
२०८२ बैशाख १४, आईतबार