काठमाडौं – लामो समयदेखि आन्दोलनरत शिक्षकहरू र सरकारले अन्ततः संवादको ढोका खोल्न थालेका छन्। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नेपाल शिक्षक महासंघ र सरकारी प्रतिनिधिबीच वार्ता जारी छ।
शुक्रबार वार्ताको तयारी गर्दै सिंहदरबारको गेटसम्म पुगेका शिक्षक प्रतिनिधिहरू ‘विशेष कारणवश’ भेटवार्ता नभई फर्किनु परेको थियो। महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सो दिन वार्ता नहुनुमा प्रशासनिक कारण रहेको जनाएका थिए।
त्यसपश्चात शिक्षा मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शनिबार बिहान वार्ताका लागि आह्वान गरेपछि, शिक्षक टोली वार्ताका लागि पुनः मन्त्रालय पुगेको हो।
नयाँ शिक्षा ऐनको मागलाई लिएर २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूको यो संघर्षले विद्यालयस्तरका सम्पूर्ण शैक्षिक क्रियाकलाप ठप्प पारेको छ। विद्यार्थी भर्ना अभियानदेखि कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित बनेको छ। निर्धारित मितिमा हुन नसकेर परीक्षा वैशाख २१ गतेका लागि सारिएको छ।
शिक्षा क्षेत्रको अवरुद्ध अवस्था अन्त्य गर्न अहिलेको वार्ता निर्णायक बन्ने अपेक्षा गरिएको छ।
२०८२ बैशाख १३, शनिबार