सुखड: कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा फरक क्षमता भएका विद्यार्थीहरूका लागि निर्माण हुने विशेष आवासीय भवनको शिलान्यास गरिएको छ।
शिलान्यास कार्यक्रम नगर प्रमुख खडक बहादुर रावत, उप–प्रमुख गुलिया कुमारी चौधरी र विद्यालयका प्रधानाध्यापक धन बहादुर बमको उपस्थितिमा सम्पन्न भयो।
सङ्घीय सरकारको नमुना विशेष आवासीय विद्यालय योजनाअन्तर्गत प्राप्त अनुदानबाट मालिका मस्टा निर्माण सेवा लम्की, कैलालीले भवन निर्माण गर्न लागेको हो। निर्माण लागत २ करोड १६ लाख रुपैयाँ रहने जनाइएको छ।
विद्यालयको नाममा स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफलको कित्ता नं. ९७ मा बन्ने उक्त भवनमा छात्रावास, चमेना गृह र थेरापी कक्ष पनि रहने छन्। भवन आगामी २०८३ सालको असार महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
राष्ट्रिय माविको व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर हमालले नेतृत्व सम्हालेपछि विद्यालयको जग्गामा रहेका संरचना हटाएर औपचारिक प्रक्रिया अगाडि बढाइएको हो।
उक्त भवन निर्माणले फरक क्षमता भएका विद्यार्थीहरूलाई सहज, समावेशी र आधुनिक शिक्षा वातावरण निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
२०८२ बैशाख १२, शुक्रबार