+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डको नेतृत्वमा

प्रचण्डको संकल्पमा पुनर्जागृत हुँदै माओवादी केन्द्र

प्रचण्डको सक्रियता र जनसरोकार

प्रकाश मिश्र
२०८२ बैशाख १०, बुधबार

प्रकाश मिश्र:नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोड फेरि देखिन थालेको छ — अव जनतामाझ गुम्न लागेको आशा पुनः जीवन्त हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी तराई–मधेस जागरण अभियान यही सन्देश बोकेर अघि बढिरहेको छ। यो अभियान केवल राजनीतिक यात्रा मात्र होइन, बरु जनताको पीडा सुन्ने, बुझ्ने र समाधानको बाटो पहिल्याउने सामूहिक प्रयास हो, जसको अग्रभागमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् सक्रिय रूपमा उभिएका छन्।

प्रचण्डको सक्रियता र जनसरोकार

अध्यक्ष प्रचण्ड, जसले सशस्त्र जनयुद्धमार्फत परिवर्तनको सूत्रपात गरेका थिए, अहिले पुनः जनतामाझ फर्किएका छन्। तर यसपटक हातमा हतियार होइन, सन्देश छ — शान्ति, समृद्धि र समावेशी शासनको। उनी सिधा गाउँ-घर, टोल, बजार हुँदै मधेसको जनतालाई समेट्दैछन्। ऐतिहासिक रूपमा राज्यको ध्यानबाहिर परेको मधेसमा जनतासँग प्रत्यक्ष संवाद गर्दै, उनी पीडितका आवाज बनिरहेका छन्। तराई–मधेस जागरण अभियानले मधेसको मौलिकता, बहुलता र समस्यालाई पहिचान गर्दै त्यसको संस्थागत समाधानका पक्षमा जनचेतना अभिवृद्धि गरिरहेको छ। खासगरी मधेसमा बढ्दो रोजगारी संकट, कृषि अस्थिरता, सामाजिक विभाजनजस्ता मुद्दालाई प्रचण्डले आफ्ना भाषण र प्रत्यक्ष संवादमार्फत प्राथमिकतामा राखेका छन्।

निराशाको छायाँ र आशाको झिल्को

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले जनअपेक्षा सम्बोधन गर्न असफल रहेको ,लगातार बढ्दो महँगी, बेरोजगारी, विकासको ठप्प अवस्था, भ्रष्टाचारको मौन संरक्षण, र सरकारी संयन्त्रप्रतिको नागरिकको विश्वासको पतनले जनताको आत्मामा निराशा भरिएको छ। शिक्षक आन्दोलन, स्वास्थ्य क्षेत्रमा असन्तुष्टि, युवा पलायन, र स्थानीय तहसम्म फैलिएको प्रशासनिक निष्क्रियता यस अवस्थाका द्योतक हुन्।जनताले अनुभूति गरिरहेका छन् कि ठूला दलहरू सत्ताका लागि साटासाट गर्न माहिर भए पनि जनताको हितका लागि संकल्पित छैनन्। यस्तो परिस्थितिमा प्रचण्डले पुनः जनताको सामु आफूलाई प्रस्तुत गर्नु र सक्रिय जनसरोकारको राजनीतिमा फर्कनु, जनताको आशाको पुनर्जागरणको प्रतीक बनेको छ। नेपालको राजनीतिक रूपान्तरणका एक प्रमुख शिल्पी प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापनामा निर्णायक भूमिका खेलेको, शान्ति प्रक्रियालाई सफलतापूर्वक संस्थागत गरेको कुरा नेपाली राजनितिको एक शिखर क्रान्ती हो । उनको समावेशी लोकतन्त्र, संविधान निर्माण, शान्ति सम्झौता जस्ता मूल विषयमा भूमिका आज पनि नेपालको आधुनिक इतिहासमा सधैं स्मरणीय रहनेछ।

तर, विगतका केही असफलता र सत्तासाझेदारीका विवादहरुले उनको छवि केही मलीन बनाएको पनि यथार्थ हो। तर यही यथार्थसँग जुध्दै, सुधारको संकल्प गर्दै फेरि जनताको प्रचण्ड बन्ने यात्रामा छन्। आजको नेपाल राजनीतिक, सामाजिक र आर्थिक संकटको संघारमा उभिएको छ। तर निराशाबीच आशाको किरण देखिएको छ — जुन प्रचण्डको मूलधारको जनराजनीतिमा पुनः प्रवेश हो। तराई–मधेस जागरण अभियान केवल माओवादीको कार्यक्रम होइन, यो जनताको आत्माको आवाज हो — जुन ‘प्रचण्ड’ नामको विश्वासमाथि फेरि एकपटक आश्रित भएको छ। अबको प्रश्न केवल नेतृत्वको होइन, संकल्पको हो — प्रचण्डले त्यो संकल्पलाई कार्यरूप दिन सक्नेछन् भने, नेपाली राजनीति फेरि एकपटक जनपक्षीय मोडमा फर्किन सक्छ।

२०८२ बैशाख १०, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १०, बुधबार

लेखकको बारेमा

प्रकाश मिश्र

अत्रिदेव खबर

ट्रेन्डिङ