प्रकाश मिश्र/ कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडस्थित घोडाघोडी क्लब वि.सं. २०४९ सालमा स्थापना भएको, इतिहास बोकेको एक सामाजिक तथा खेलकुद संस्था हो। क्लबको स्थापना कुनै आकस्मिकतामा होइन, स्थानीय युवाहरूको जोश, समाजप्रतिको उत्तरदायित्व र फुटबलप्रतिको गहिरो प्रेममा आधारित थियो। हरेक दशक पार गर्दै आइपुगेको यस क्लबले फुटबललाई आफ्नो पहिचान बनाउँदै, युवाको क्षमता अभिवृद्धि गर्ने थलोको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
तर समयको फेरसँगै क्लबको गति केही समयको लागि मन्द भयो। फुटबलको क्रेज घट्न थाल्यो, मैदान सुनसान हुँदै गयो, युवाहरू अन्यत्र मोडिन थाले। तर त्यो अध्यारो अवस्था लामो समय टिक्न सकेन। क्लबमा नेतृत्व परिवर्तन भयो, सोच र दृष्टिकोणमा परिवर्तन आयो, र यही मोडबाट सुरु भयो फुटबलको पुनर्जागरण।
नेतृत्वमा एक नयाँ उर्जा: होम तामाङ्ग
क्लबको बागडोर जब लोकप्रिय युवा नेता होम तामाङ्गको हातमा पुग्यो, तब क्लबले नयाँ जीवन पायो। उनी केवल अध्यक्ष मात्र होइनन्, एक जोशिला अभिभावक हुन् जसले क्लबलाई नयाँ दिशा दिन थालेका छन्। तामाङ्ग आफैं कैलाली जिल्ला फुटबल संघको कार्यसमिति सदस्य पनि हुन्, जसले फुटबल क्षेत्रमा उनको सक्रियता र लगावलाई स्पष्ट पार्छ।
उनको नेतृत्वमा क्लबले खेलकुदलाई मात्र होइन, समाज सुधार र युवाहरूलाई सकारात्मक मार्गतर्फ डोहो¥याउने अभियानलाई समेत प्राथमिकता दिएको छ। आज उनी फुटबललाई माध्यम बनाएर समाज परिवर्तन गर्ने सपना बोकेर अगाडि बढिरहेका छन्।
दैनिक प्रशिक्षण, अनुशासन र समर्पण
क्लबमा अहिले नियमित रूपमा फुटबल प्रशिक्षण सञ्चालन हुँदै आएको छ। मुख्य प्रशिक्षक हेमन्त क्षेत्री तथा सहायक प्रशिक्षकहरू नारायण श्रेष्ठ र जीवन भट्टराईको निगरानीमा दैनिक ५० जना भन्दा बढी खेलाडीहरू प्रशिक्षणमा सहभागी हुन्छन्। खेलाडीहरूमा बालबालिका, किशोरकिशोरीदेखि युवासम्मको सक्रिय उपस्थिति देखिन्छ।
क्लबको लक्ष्य भने अझ महत्वाकांक्षी छ — एकै समयमा मैदानमा १०० जना खेलाडीलाई प्रशिक्षण दिने। प्रशिक्षकहरूले नियमित तालिम, फिटनेस, रणनीति, मानसिक तयारीदेखि खेल अनुशासनसम्म प्रशिक्षण दिन्छन्। यस्ता कार्यक्रमहरू केवल फुटबल मात्र होइन, युवाको अनुशासन, आत्मबल र सामाजिक सहभागितालाई पनि मजबुत बनाउँछन्।
दुर्व्यसनमुक्त समाजको परिकल्पना
आजको युवापुस्तामाझ विभिन्न किसिमका दुर्व्यसनहरू फैलँदै गएका छन्। मोबाइल, मादक पदार्थ, लागूपदार्थ आदि तिनीहरूका शत्रुजस्तै बनेका छन्। घोडाघोडी क्लबले यस चुनौतीलाई पहिचान गर्दै फुटबललाई बचाउको अस्त्र बनाएको छ। क्लबको सोच छ – जब युवा मैदानमा पस्छ, उनी दुर्व्यसनबाट टाढा रहन्छ; जब पसिना बगाउँछ, तब ऊ आफ्नो जीवनको महत्व बुझ्न थाल्छ।
फुटबलको पुनर्जागरणको प्रभाव
होम तामाङ्गको प्रेरणादायी नेतृत्वमा क्लबले पछिल्लो समय जिल्लास्तरीय छनोट खेलहरू, अन्डर-२० वडाध्यक्ष कप, र अन्य स्थानीय प्रतियोगिताहरूको सफल आयोजना गरिसकेको छ। यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च त दिएका छन् नै, साथै स्थानीय समुदायमा फुटबलप्रतिको विश्वास र आकर्षण पनि पुनः स्थापित गराएका छन्।
आज मैदानमा प्रशिक्षण भइरहेको हेर्दा, दर्शकदीर्घामा उत्साहित अभिभावकहरू, साथीहरू, समर्थकहरू देखिन्छन्। त्यो जोश, जुन पहिले कम हुँदै गइरहेको थियो, अहिले फेरि लहर झैँ बग्न थालेको छ।
भविष्यको बाटो: योजनाबद्ध अगाडि बढ्ने लक्ष्य
अध्यक्ष तामाङ्ग र उनको टोली अब क्लबलाई अझ संस्थागत र दीर्घकालीन रुपमा अघि बढाउन क्लबका लागि आधुनिक मैदानको निर्माण,महिला फुटबल टोलीको स्थापना,स्कुलस्तरबाट खेलाडी छनोट कार्यक्रम,जिल्लाभित्र र बाहिर अन्तरक्लब प्रतियोगिताहरूको आयोजना,क्षमता भएका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने व्यवस्था ,खेलाडीहरूको स्वास्थ्य, पोषण र मनोपरामर्शमा विशेष ध्यान दिन सक्यो भने अवश्य सफलता मिल्ला । तर यी सबै कार्यका लागि स्थानियतह,स्थानिय बुद्धिजीवी ,ब्यापारी तथा संघसस्थाको सहयोग र सहकार्य आवश्यक पर्दछ । त्यसका लागि क्लवले वातावरण तयार पार्न सक्नुपर्दछ ।
फुटबल मात्रै होइन, भविष्यको निर्माण
आज घोडाघोडी क्लब केवल क्लब मात्र होइन – यो एक शिक्षा, अनुशासन र नेतृत्व विकासको केन्द्र बनिसकेको छ। होम तामाङ्ग जस्ता जोशिला युवाहरूको पहल र सम्पूर्ण टोलीको समर्पणले क्लबले आफ्नो सुनौलो भविष्यको बाटो तय गरिसकेको छ।
यदि यस उत्साह, प्रतिबद्धता र जनसहभागिता यथावत् रह्यो भने, अबको केही वर्षमै घोडाघोडी क्लब कैलाली मात्र होइन, सुदूरपश्चिमकै नमुना क्लब बन्ने छ – जहाँबाट राष्ट्रिय खेलाडीहरू जन्मिनेछन्, जहाँ खेलमार्फत समाज सुधारिनेछ, र जहाँ फुटबल केवल खेल होइन, जीवन बदल्ने अभियान बन्नेछ।
२०८२ बैशाख ९, मंगलबार