३० जेठ, काठमाडौं । काठमाडौंको कपनमा दुई दशकअघि घर बनाएर बस्दै आएका शरदकुमार शर्माले यस वर्ष अत्यधिक गर्मी महसुस भएपछि एसी जोडे । उनले पंखा त पोहोर सालदेखि नै प्रयोग गरिरहेका थिए ।
तर त्यतिले मात्र नपुगेपछि शर्माले यस वर्ष एसी पनि जोहो गरे । उनी भन्छन्, ‘मैले घर बनाउनेताका काठमाडौंमा खासै गर्मी हुँदैनथ्यो । त्यहीभएर अरुहरुले जस्तै मैले पनि न एसी जरुरी ठानेँ, न पंखा । अचेल गर्मी खपीनसक्नु भएपछि दुवै प्रयोग गर्दै आएको छु ।’
७५ वर्षीय रामभक्त श्रेष्ठ काठमाडौं कीर्तिपुरका रैथाने बासिन्दा हुन् । उनलाई पनि अचेल काठमाडौंमा गर्मी अत्यधिक बढेको महसुस भएको छ । त्यसैले उनले पनि पंखा किनेर प्रयोग गर्दै आएका छन् ।
भन्छन्, ‘पहिले–पहिले काठमाडौंमा पंखा आवश्यक नै हुँदैनथ्यो । गर्मीयाममा पनि ओढ्ने ओढेर सुत्नुपर्थ्यो । तर अहिले त गर्मीले गर्दा रातभरी पंखा चलाएर सुत्नुपर्छ ।’
स्टेशनरी व्यवसायको सिलसिलामा विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका कमल शर्माको अनुभव पनि त्यस्तै छ । ‘काठमाडौंमा अलिअलि गर्मी त हुन्थ्यो तर शरीरको कपडा पसिनाले भिज्ने गरी गर्मी महसुस भएको मलाई थाहा थिएन’, भन्छन्, ‘तर अहिले त तराईको जस्तै गर्मी काठमाडौंमा पनि हुन थालेको महसुस भएको छ ।’
२०८१ जेष्ठ ३०, बुधबार