सरकारी क्याम्पसमा विद्यार्थी अभाव
विराटनगर : रोहित मण्डलको सपना थियो– स्नातकोत्तर पढाइ पूरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने। उनको स्नातकोत्तरको नतिजा पनि भनेजस्तै आयो।
उनले आफ्नो सपना पूरा गर्न हरसम्भव प्रयास गरे तर समयमै शैक्षिक प्रमाणपत्र नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरीक्षकका लागि आवेदन दिन पाएनन्।
प्रहरी अधिकृत बनेर देशमै केही गर्ने भन्ने उनको सपना तुहियो। अहिले उनी विदेशिने तरखरमा छन्। व्यावहारिक शिक्षा र रोजगारीको अवसर कम भएकाले पनि कमाउँदै पढ्ने उद्देश्यले विदेश जाने तयारीमा रहेका उनी विराटनगर–१६ का हुन्।
बेलबारीका सनिस बस्नेत पढ्दै कमाउने भन्दै विदेश पुगेका छन्। कक्षा १२ पास गरेलगत्तै पढाइसँगै रोजगारीको अवसर खोज्दै उनी क्यानडा पुगे। नेपालमा उच्च शिक्षा हासिल गरे पनि रोजगारीको अवसर कम भएकाले विदेशिन बाध्य बनेको उनी बताउँछन्।
उनी भन्छन्, ‘शिक्षा छ, रोजगारी छैन, चुनौती धेरै तर अवसर कम छ। त्यसैले अवसरको खोजीमा काम गर्दै पढ्ने उद्देश्यले नेपाल छोडेको हुँ।’
राम्रो अवसर पाए देश छोड्ने युवाहरूको लर्को मध्येका रोहित र सनिस प्रतिनिधि पात्र मात्रै हुन्। राजनीतिक दाउपेचले गिजोलेको नेपालको शिक्षा प्रणालीप्रति आजित युवाहरू पढ्न र कमाउन युरोप‚ अमेरिका र अष्ट्रेलिया जान बाध्य छन्।
प्राविधिक शिक्षाको कमीभन्दा पनि व्यावहारिक शिक्षा नभएकाले पनि पछिल्लो समय सरकारी क्याम्पसमा विद्यार्थीको आकर्षण घट्दै गएको विद्यार्थी नेता निर्मल भण्डारी बताउँछन्। व्यवहारमा उतार्न सक्ने शिक्षानीति सरकारले ल्याउन जरुरी रहेको बताउँदै उनले रोजगारी सुनिश्चित हुनुपर्ने, शिक्षाको गुणस्तर वृद्धि हुनुपर्ने र नेपालकै विश्वविद्यालय हुँदाहुँदै वैदेशिक विश्वविद्यालयलाई नेपालमा अनुमति दिन नहुने उनको बुझाइ छ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा पछिल्लो समय विद्यार्थीको आकर्षण खासै छैन। यसो हुनुमा व्यावहारिक शिक्षा अभावकै कारण रहेको भण्डारीको बुझाइ छ। विराटनगरको स्नातकोत्तर क्याम्पसका स्ववियु सभापति निर्मल गजुरेलले पनि गुणस्तरीय शिक्षा प्रणाली नहुँदा सरकारी क्याम्पसमा विद्यार्थी अभाव हुँदै गएको बताए।
उनले विद्यार्थीको गन्तव्य युरोप, अमेरिका र अष्ट्रेलिया बन्दै गएकोप्रति दुःख लाग्ने गरेको बताए। नेपालका विश्वविद्यालयले ४ वर्षे स्नातक सकाउन ५ वर्ष लगाउने तर विदेशी विश्वविद्यालयले ४ वर्षे ब्याचलर समयमै सक्ने भएकाले पनि विद्यार्थीहरू नेपाली विश्वविद्यालयभन्दा विदेशी विश्वविद्यालयमा ५ गुणा बढी पैसा तिरेर पढ्न जाने गरेको उनको भनाइ छ।
लामो समय विद्यार्थी राजनीति गरेका महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थी रहेका ओसिम आलम विद्यार्थीको पढाइको स्तर सरकारी कलेजमा कमजोर भएपछि विद्यार्थीहरू दुःख गरेरै भए पनि विदेश जाने गरेको बताउँछन्। अरूको आलोचना गर्नुभन्दा पनि सरकारी क्याम्पसमा राज्यको लगानी छ, प्रतिफल आउने कुरामा सरोकारवाला दोषी रहेको उनको तर्क छ।
‘हामीले निजी क्षेत्रलाई सरापेर हुँदैन, सरकारी स्कुल कलेजमा राज्यको जति लगानी छ। त्यसको प्रतिफलमा आउने कुरामा सरोकारवालाहरू दोषी हुन्, निजी शैक्षिक संस्थामा पढाउने शिक्षकको पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक पाउने सरकारी क्याम्पस र विद्यालयका व्यक्तित्वहरूले सोच्नुपर्ने विषय हो।’
सरकारी क्याम्पस या विद्यालयको खस्कदो पढाइको मुख्य दोष राज्यले लिनुपर्नेमा उनले जोड दिए। तीनै तहका सरकारले आ-आफ्नो मातहतमा रहेको शैक्षिक संस्थामा सुधार गर्नु जरुरी रहेको उनले बताए।
उनले भने, ‘महेन्द्र मोरङमा पढाउने कतिपय प्राध्यापकको निजी कलेज छ। निजीको विद्यार्थीको नतिजा राम्रो आउँछ। त्यही सरकारी कलेजका विद्यार्थीको शिक्षाको गुणस्तर कति कमजोर छ।’ सम्पूर्ण विषयको जिम्मा सरोकारवाला र राज्यले लिनुपर्नेमा उनले जोड दिए।
विद्यार्थीको संख्या घट्दो छ : डा. उपाध्याय
विद्यार्थी घट्ने क्रम नेपालका प्रायः सबै विश्वविद्यालयमा पछिल्ला समय देखिएको महेन्द्र मोरङ क्याम्पसका समाजशास्त्र विभागका प्रमुख समेत रहेका उपप्राध्यापक डा. चन्द्र उपाध्याय बताउँछन्।
यो वर्ष झनै कम संख्यामा विद्यार्थी भर्ना भएको र तोकिएको सिट संख्यामा पनि विद्यार्थी अभाव देखिएको उनको भनाइ छ। ‘विश्वविद्यालयले दोहोर्याएर प्रवेश परीक्षा लिने गरेका छन्, नर्सिङ, इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा पनि विद्यार्थी पुगेनन्।’ उनले भने, ‘एकाध सेमेस्टरतर्फ प्रोग्राममा तोकिएको सिट संख्या विद्यार्थीहरू भर्ना भएका छन्। महेन्द्र मोरङमा बीबीएतर्फ ९९ सिट हो, त्यहाँ ९९ जना भर्ना भए, आइटीतर्फ कतै ३५, ३६ जना भर्ना भए तर धेरै क्याम्पसमा सिट बराबर विद्यार्थी छैनन्।’
यसमा विश्लेषण गर्दा उच्च माध्यमिक तहको परीक्षाफल कति भयो भन्ने पनि हेर्नुपर्ने बताउँदै उनले भने कति विद्यार्थी स्नातक पढ्न योग्य भए र कति सिट संख्या भयो, त्यो पनि हेर्नु जरुरी छ। त्यसमा पनि शिक्षामा नयाँ कार्यक्रम थपिदै गएकाले नयाँ कार्यक्रममा विद्यार्थी गएका र केही कार्यक्रममा शून्य रहेको समेत उनको बुझाइ छ।
महेन्द्र बहुमुखीमा मानविकी संकायमा विद्यार्थी घटेका छन्। विश्वविद्यालयहरूले क्यालेन्डर कार्यान्वयन नगर्दाको नतिजा मान्नुपर्ने उनको बुझाइ छ।
उनी भन्छन्, ‘४ वर्ष लाग्नेलाई ५ वर्ष लगाउनु, ३ वर्षेलाई चार वर्ष लगाउनुपर्ने अवस्था छ।’ पढाइका क्रममा पढ्ने र कमाउने भन्ने सपना लिएर विदेश पलायन हुने बताउँदै उनले विदेशमा विश्वविद्यालय पढ्दै काम गर्ने नीति बनाएकाले पनि विद्यार्थीहरूको विदेशमा पढ्न जानका लागि आकर्षण बढ्दै छ।