सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति गठन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी संयोजक हुने गरी ५ जनाको समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख, सदस्यहरूमा रोजगार संयोजक र दुई जना स्थानीय तहले ताकेको मान्छे रहने बताइएको छ ।
समितिले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धी निकाय समक्ष पेस गर्ने, स्थानीय तहमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयन गर्ने आवश्यक समन्वय र सहजीकरण गर्ने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धनगढीको आयोजनामा स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति गठन गरिएको हो । कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावत, उप प्रमुख गुलिया कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी , कार्यपालिका सदस्य, बिभिन्न वडाका वडा अध्यक्ष, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न व्यक्तिहरूको सहभागी रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल ब्यबसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले गर्नु भएको थियो ।