बाटामै सन्तान जन्माइन्, एक घन्टा हिँडेर घर गइन्, एक्लै पकाएर खाइन्


२९ वर्षीया पानसरा रोकायाको सुत्केरी हुने मिति थियो, मंसिर २१ गते।

एक महिनाअघि स्वास्थ्य चौकी पुग्दा उनलाई २१ गते जे भए पनि जँचाउन आउनु भनिएको थियो। तर उनलाई स्वास्थ्य चौकीले दिएको मितिभन्दा चार दिनअघि १८ गते नै तल्लो पेट दुख्न थालिसकेको थियो।

यसअघि उनले दुई सन्तान जन्माइसकेकी थिइन्। त्यसैले उनीसँग बेथा लाग्न सुरू गर्दा दुख्ने पेटको अनुभव नहुने कुरा भएन। त्यो दिन अलि फरक तरिकाले पेट दुखेको अनुभव भएकाले त्यसलाई सामान्य लिइन्।

खानपिनमा केही नमिलेको हो कि भन्ने उनले सोचेकी थिइन्।

रात पर्दै जाँदा उनको दुखाइ बढ्यो। रातमा एक्लै स्वास्थ्य चौकी जान सक्दिन थिइन्। वडाकै स्वास्थ्य चौकी पुग्न झण्डै एक घन्टा लाग्यो।

अलि कस्सिएर हिँड्ने आधा घन्टामै पुग्थे भने बुढापाका, बालबालिका र गर्भवती महिला ४०/५० मिनेट हिँडेपछि मात्र स्वास्थ्य चौकी पुगिन्थ्यो।

उनी बाजुरा बुढीनन्दा नगरपालिका-४ की हुन्। उनी बसेको गाउँमा गाडी वा फराकिला सडक छैनन्। त्यसैले त्यो दिन साँझ परेकाले भोलिपल्ट सबेरै स्वास्थ्य केन्द्र जाने उनले निधो गरिन्।

बिहानै स्वास्थ्य चौकी जाने सोचे पनि बच्चा घरमै जन्मिन्छ कि भनेर एकछिन अलमल गरिन्। धेरै गाह्रो हुन थालेपछि बिहान ८ बजे स्वास्थ्य चौकी जान एक्लै निस्किएको उनले बताइन्।

‘१५/२० मिनेट हिँडिसकेपछि पाइला सार्नै सकिनँ। त्यसैले बारीको भित्तामा ढाड अड्याएर बसेँ,’ उनले भनिन्, ‘बच्चा निस्कन लागेको हो कि जस्तो लागेपछि भुइँमै बसेको थिएँ।’

उनलाई बच्चा अड्किएको हो कि भन्ने डर लागिसकेको थियो। तर स्वास्थ्य केन्द्र पुग्ने हिम्मत पनि थिएन। त्यसैले बारीमै बसेको उनको भनाइ छ।

बेथाले च्यापेपछि डेढ घन्टासम्म त्यहीँ बसेकी थिइन्। उनलाई आफूसँगै बच्चा पनि मर्ने हो कि भन्ने डर थियो। वरपर कोही नभएकाले बोलाए पनि कसैले सुन्दैनन् भनेर एक्लै चिच्याइरहेको उनले बताइन्।

‘फोन पनि हतार-हतारमा घरमै छोडेर गएकी रहेछु,’ उनले भनिन्।

उनी धेरै गाह्रो भइरहँदा दुई घुँडा टेकेर बसिरहेकी थिइन्। त्यही अवस्थामा कार्यालय जान हिँडेकी उनकै टोलकी वडा स्वास्थ्य केन्द्र प्रमुख धर्मा चदारले देखिन्।

‘कार्यालय जान हिँडेकी थिएँ, पछ्यौरी ओढेर कोही बसेको जस्तो लागेपछि बोलाउन गएकी थिएँ,’ उनले भनिन्, ‘रोकाया बेथाले च्यापेर त्यहाँ बसेकी रहेछिन्।’

धर्मालाई देखेपछि रोकायालाई आफू बाँच्ने आस जागेको थियो। किनकि उनी स्वास्थ्यकर्मी हुन्। गाउँमा गर्भवती महिलालाई जोखिमको बारेमा भनिरहेकी हुन्थिन्। धर्माले पनि रोकायालाई सुरूमा कसैलाई केही नभनी एक्लै हिँडेकोमा गाली गरिन्। तर फेरि उनी पीडाले छटपटाइरहेको देखेर बच्चा निस्कन लागेको हो/होइन भनेर हेरिन्।

बच्चाको टाउको निस्किन खोजिरहेको थियो। तर सकिरहेको थिएन। त्यहाँ भुइँमा ओछ्याउन पनि केही थिएनन्। उनलाई तत्काल स्वास्थ चौकी पुर्‍याउन नसक्ने भएकाले त्यहीँ सुत्केरी गराउन कोसिस गरेको धर्मा बताउँछिन्।

स्वास्थ्य चौकीमा गर्भवती महिलालाई शय्यामा सुताएर बच्चा झिक्ने गरिएको थियो। त्यहाँ त्यस्तो अवस्था थिएन। अझ उनले सुरूवाल पनि लगाएकाले झनै गाह्रो भएको थियो।

उनका अनुसार, रोकायालाई एक्लै बोकेर लैजान सक्ने अवस्था थिएन। स्वास्थ्य चौकीमा काम गर्ने भएकाले साथमा मेडिकल पन्जा र सिजर थियो। त्यो सँगसँगै एक्लै भएकाले डर पनि साथमै थियो।

रोकाया पीडाले कराइरहेकी थिइन्।

उनले स्वास्थ्य चौकीमा स्ट्रेचरसहित सुत्केरी महिलालाई बोक्न चार/पाँच जनालाई पठाइदिन भनेकी थिइन्। तर उनीहरू त्यहाँ आइपुग्न समय लाग्थ्यो।

त्यसै हेरिरहन सकिनन्।

‘स्वास्थ्यकर्मीको टोली आउञ्जेल बच्चा र आमालाई केही हुने हो कि भन्ने डर थियो। त्यसैले पन्जा लगाएर रोकायाको शरीरभित्र हात छिराएर बच्चा तानें,’ उनले त्यति बेलाको क्षण सुनाइन्।

उनले थपिन्, ‘बच्चाको टाउको ठूलो भएकाले अड्किएको रहेछ।’

उनले पछि थाहा पाइन् बच्चा ४ किलोको रहेछ।

१० बजेर १० मिनेट जाँदा उनले बारीमै बच्चा जन्माएकी हुन्। बेथा लागेको १० घन्टापछि उनले बारीमै बच्चालाई जन्म दिएकी थिइन्।

बच्चा तान्दा आमा बेहोस हुनै लागेकी थिइन्। तर पनि आफ्नो बच्चा भुइँमा खस्ने डरले रोकायाले अर्धहोसमै निस्किनसाथ बच्चा समातेकी धर्माको भनाइ छ।

‘भुइँमा केही ओछ्याइएको थिएन। बेहोस हुन लागेकी आमाले कति छिटो बच्चा समातिन्,’ धर्माले भनिन्, ‘आफ्नो सन्तानको माया त्यस्तो हुँदोरहेछ।’

जन्मनासाथ बच्चा रोएन। त्यसैले धर्मा डराइन्। बच्चा केही भइहाले आफूले गाली खाने डर उनको मनमा थियो।

‘बच्चा बाहिर निस्किनसाथ रोएन,’ उनले भनिन्, ‘त्यतिबेला आत्तिएको थिएँ।’

बच्चाको पिँठ्युमा हातले मसाज गर्दै बिस्तारै हान्दा पनि रोएन। फेरि हत्तपत्त आमाको छातीमा टासिदिएपछि रोएको उनी बताउँछिन्। त्यतिबेला उनी बच्चालाई केही भएको हो कि भन्ने डरले कामिरहेकी थिइन्।

जसै बच्चा रोयो, धन्य भगवान! दुवैलाई बचाउन सकेँ भन्दै धर्माले लामो सास फेरेकी थिइन्। बच्चा निकालिसकेपछि पनि नाल काटेर बाँध्न डोरी नभएकाले केही छिन कुर्नुपरेको उनले सुनाइन्।

धागो भने उनले साथमा बोकेको थिइनन्।

उनले स्वास्थ्य केन्द्रको डाक्टरलाई रोकायाको अवस्थाबारे सुनाइरहेकी थिइन्। बच्चा जन्माएको १०/१५ मिनेटपछि केही विद्यार्थी स्ट्रेचर बोकेर लिन आइपुगेको उनले बताइन्।

त्यसपश्चात् उनलाई स्वास्थ्य चौकी पुर्‍याइएको थियो। स्वास्थ्य चौकीमा लगेपछि उनको बच्चाको जाँच गरेर उनलाई सामान्य औषधि दिएर फर्काइएको थियो।

बच्चा जन्माएर स्वास्थ्य चौकी पुगेर फर्किने बेलासम्म कोही नआएकोमा रोकाया दुखेसो पोख्छिन्।

‘साँझसम्म घरबाट कोही लिन नआएपछि एक्लै एक घन्टा हिँडेर फर्किएँ,’ रोकायाले भनिन्, ‘रगत बगिरहेको थियो तर पनि बच्चा बोकेर हिँड्दै आएँ।’

रोकायाका अनुसार श्रीमानले उनलाई वास्ता गर्दैनन्। श्रीमान, सासू-ससुराले वास्ता गर्न छाडेको पनि ५/७ महिना भइसक्यो। त्यसैले अहिले पनि घरभन्दा तल छाउगोठमा एक्लै बसेको उनले सुनाइन्।

छाउगोठमा उनलाई एकसरो लुगा र भाँडाकुँडा दिइएको छ। त्यही उनी आफ्नो लागि खाना बनाएर खान्छिन्। यसअघि आफूले दुई सन्तानलाई घरमै जन्म दिँदा एक दुई छाक पकाएर खुवाए पनि अहिले बेवास्ता गरेको उनको दु:खेसो छ।

यसअघि उनले दुई सन्तानलाई घरकै आँगनमा जन्म दिएकी हुन्। त्यतिबेला त्यतिधेरै रगत बगेको थिएन। तर यसपटक बिहीबार तीन दिन भइसक्दा रगत बग्न कम भएको छैन।

‘श्रीमानले सुत्केरी भएरै आएको साँझ त पकाएर खुवाएनन्। अब आस छैन,’ उनले भावुक हुँदै भनिन्, ‘अर्कैसँग विवाह गर्ने तयारीमा भएर वास्ता नगरेको होला।’

उनी आफ्नो गाउँतिर सडक र यातायात सुविधा नहुँदा सुत्केरीको ज्यान जोखिम हुने गरेको दु:ख पोख्छिन्। उनको गाउँमा सुत्केरी अवस्थामा बच्चा जन्माउन नसकेर धेरै आमाहरूको मृत्यु भएको छ। आफू त्यो कालबाट बाँचे पनि चिसोले मर्ने हो कि भनेर उनलाई चिन्ताले डसिरहेको छ।

सम्बन्धित समाचार