+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भदौ १५ भित्र कक्षा १२ को नतिजा सर्वाजनिक गर्ने बोर्डको तयारी

अत्रिदेव खबर
२०७९ भाद्र ६, सोमबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए । यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ ।

 

विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । परीक्षा नियन्त्रक शर्माका अनुसार प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ ।

 

यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो ।

 

के हो नन–ग्रेडिङ ?

 

तोकिएको परीक्षामा निश्चित प्रतिशत अङ्क ल्याउँदा ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणाली लेटर ग्रेडिङ हो । यसमा उक्त प्रतिशतलाई ए प्लस, ए, बी, सी, डी, ई जस्ता ग्रेडमा वर्गीकरण गरिन्छ । त्यसका लागि कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउन पाइँदैन । कुनै विषयको सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत भन्दा कम अङ्क ल्याएको खण्डमा त्यो विद्यार्थी फेल भएको मानिने । ३५ र ४० प्रतिशतभन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड नदिइने र नन–ग्रेडिङ हुने शर्माको भनाई छ । नन–ग्रेडिङ पाएका विद्यार्थीले पुनः बोर्ड परीक्षा दिनुपर्ने शर्माले बताए । यसअघि कक्षा १२ को परीक्षामा कट–अफ प्वाइन्ट थिएन ।

 

तर, यसपालिदेखि नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको उनको भनाई छ । डी भन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई ‘एनजी’ अर्थात अवर्गीकृत (नट ग्रेडेड) भनिनेछ । त्यस्ता विद्यार्थीले शैक्षिक प्रमाणपत्र नपाउने र पुन परीक्षा दिनुपर्ने उनको भनाई छ । दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका लागि मौका परीक्षा दिनुपर्नेछ । त्यसका लागि परीक्षाफल आएको डेढ महिनापछि मौका परीक्षा दिनुपर्ने नियन्त्रक शर्माले बताए । एनजी भनेको विद्यार्थीले सिधा अर्थमा फेल भएको बुझ्नुपर्ने उनको भनाई छ । एनजी दिँदा पुनः एनजी नै आयो भने अर्को वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने उनको भनाई छ ।

 

यसअघि एनजीको ठाउँमा ई ग्रेड भनिन्थ्यो । तर, त्यो बेला फेल भएको मानिँदैन थियो । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मार्ग निर्देशन बमोजिम लेटर ग्रेडिङ लागू गरिएको जनाएको छ । लेटर ग्रेडिङ लागू गर्नुको उद्देश्य विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठओटा अक्षरगत स्तरमा सूचित गर्ने रहेको छ । शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने र एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने अर्को उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

२०७९ भाद्र ६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र ६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ