अत्रीदेव खबर/११फागुन
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।
२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।
ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । झापा आएपछि ओली कम्युनिष्ट राजनीतिमा होमिए । २०२२ सालबाट राजनीतिमा सक्रिय उनले २०२६ सालमा कम्युनिष्ट पार्टीकाे सदस्यता लिएका हुन् ।
झापाको सुरुङ्गास्थित कन्काई नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । डेढ वर्षकै उमेरमा आमा गुमाएकाले उनको बाल्यकाल पनि कष्टप्रद बन्यो । उनी सानै छँदा कन्काईमा आएको बाढीले घरजग्गा सबै बगाएको थियो ।
तेह्रथुम इवाकै प्रणाली माविमा ओलीले औपचारिक पढाइ सुरु गरेका थिए । पछि उनलाई झापा आन्दोलनका शहीद रामनाथ दाहालले आफ्नो घरमा राखेर पढाए । सानैदेखि चलाख र बोल्न तगडा ओलीबाट रामनाथ प्रभावित थिए । उनले नै ओलीलाई राजनीतिमा लाग्न प्रेरित गरेका हुन् ।
राजनीतिमा लागेपछि ओलीले पढाइलाई निरन्तरता दिन सकेनन् । यद्यपि अनौपचारिक अध्ययनलाई भने उनले जारी राखे । एसएलसी दिएपछि उनले गाउँकै प्राथमिक विद्यालयमा केही समय पढाएका थिए । तर, पछि त्यो पनि छोडे ।
१४ वर्षको जेलजीवन
राजनीतिमा ओलीको वास्तविक उदय भने झापा विद्रोहबाट भएको हो । त्यसबेला उनी वैचारिकरुपमा कट्टरपन्थी कम्युनिष्टका रुपमा चिनिन्थे । उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको नेतृत्व गरेका थिए ।
पञ्चायतविरोधी आन्दोलनका क्रममा ओली लामो समय जेलमा बस्नुपर्यो । पहिलोपटक २०२७ साल फागुन १६ गते झापाबाट पक्राउ परेका उनी त्यसपछि बारम्बार पक्राउ पर्ने र छुट्ने सिलसिला चल्यो । २०३० असोज २३ गते पक्राउ परेपछि भने उनले लामो र कष्टपूर्ण जेलजीवन बिताउनुपरेको थियो । यस क्रममा उनलाई ‘जेलभित्रको पनि जेल’ भनिने गोलघरमा राखिएको थियो । त्यसबेला ओली मृत्युको मुखमा पुगेर बाँचेको उनका सहयात्रीहरु बताउने गर्छन् ।
केन्द्रीय कारागार, नख्खु जेलबाट २०३६ साल जेठमा ओली जेलमुक्त भए । तर, फेरि २०३७ सालमा गिरफ्तार भएका उनी २०४४ असार ११ मा भद्रगोल जेलबाट छुटेका थिए ।
राजनीतिका आरोह-अवरोह
नेपालमा कम्युनिष्ट आन्दोलनका अग्रणी नेताहरुमध्ये पर्छन् ओली । पार्टीको नेतृत्व सम्हाल्न भने उनले लामो समय प्रतीक्षा गर्नुपरेको थियो ।
२०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा उनी आवद्ध थिए । २०२६ सालमा तत्कालीन नेकपाको उपसचिव बनेका उनले २०२७ सालमा नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँगकाे एकीकरण अभियानको अगुवाइ गरे । २०२९ सालमा उनी नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुख भए । २०३० सालदेखि लगातार जेल जीवन बिताएपछि ओलीले पार्टीका सिंढी उक्लिन सकेनन् । जेलबाट छुटेपछि एकैपटक २०४४ सालमा आएर उनी नेकपा मालेको केन्द्रीय सदस्य बने ।
प्रजातन्त्र आएपछि २०४८ र २०५१ सालमा ओलीले झापा ६ बाट संसदको चुनाव जिते । २०४७ मा उनी पार्टी निकट प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बने । मदन भण्डारीको देहावसानपछि नेकपा एमालेमा माधव नेपाललाई महासचिव बनाउन ओलीको भूमिका थियो । ओलीले ‘सेकेन्ड म्यान’ का रुपमा नेपाललाई अविच्छिन्न साथ दिए । पछि नेपालसँग उनको फाटो भयो । अहिले उनीहरु अलग–थलग भइसकेका छन् ।
२०४९ सालदेखि २०७१ सालसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य मात्रै भए पनि पार्टीभित्र उनी शक्तिशाली मानिन्थे । अन्ततः २०७१ साल असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । त्यसअघि २०७० साल माघमा झलनाथ खनाललाई हराएर उनी संसदीय दलको नेतासमेत बनिसकेका थिए । यसरी नेपालकाे राष्ट्रिय राजनीतिमा ओलीको जबरजस्त उदय भएको थियो ।
ओली पहिलोपटक लाभको पदमा पुगेको चाहिं २०५१ सालमा हो । त्यसबेला एमालेको अल्पमतको सरकारमा उनी शक्तिशाली गृहमन्त्री थिए । गृहमन्त्रालय हाँक्दा निकै राम्रो छवि बनाए उनले । त्यसपछि उनी एकपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा दुईपटक प्रधानमन्त्री बनेका छन् । २०६३ सालमा उनी उपप्रधानमन्त्री बनेका थिए । ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भए । कांग्रेसका सुशील कोइरालालाई हराउँदै उनी प्रधानमन्त्री पदमा पुगेका थिए । तर, त्यो सरकार ९ महिना मात्रै टिक्यो ।
गृहमन्त्रीका रुपमा सफल ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा भने खासै छाप छाड्न सकेनन् । प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल भने छोटो तर अविस्मरणीय रह्यो । उनले भारतले लगाएको नाकाबन्दी डटेर सामना गर्दै राष्ट्रवादी छवि बनाएका थिए । दोस्रो कार्यकालमा भने उनी अपेक्षित सफल भइरहेका छैनन् ।
क्षमता र कमजोरी
पहिलोपटक प्रधानमन्त्री बनेयता ओलीले प्रखर राष्ट्रवादी नेताको छवि बनाएका छन् । त्यसबेला अत्यन्तै अप्ठेरो कालखण्डमा उनी प्रधानमन्त्री बन्न पुगेका थिए । भारतले लगाएको नाकाबन्दीसँग नझुकिकन उनले यसलाई पार लगाए ।
प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका तीन वर्ष ओलीले व्यतीत गरेका छन् । यो कार्यकालमा उनी अत्यधिक विवादमा तानिए । लामो समयपछि देशले स्पष्ट बहुमतसहितको बलियो सरकार पाएको थियो । तर, पार्टीभित्रको कचिंगललाई सही समाधान गर्न नसक्दा सरकारको कामकारबाही प्रभावित बन्यो । अन्ततः ओलीले प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहसी निर्णय लिन पुगे । यो उनका राजनीतिक जीवनकै सर्वाधिक विवादित कामका रुपमा रेकर्ड हुनेछ ।
ओलीको एउटा विशिष्ट प्रतिभा भनेको वाक्पटुता हो । उनका भाषण समर्थक र विरोधी दुवैले चाख मानेर सुन्ने गर्छन् । भाषणबाटै ओलीले निकै आलोचना पनि भोग्ने गरेका छन् । विरोधी नेताहरुलाई भित्तामा पुर्याउने गरी प्रहार गर्न खप्पिस छन् ओली । उखान टुक्का र हास्यरसले भरिएका उनका भाषणहरु चर्चित छन् । तर, भाषण गर्ने क्रममा कहिलेकाहीं आफ्नो पदीय मर्यादा नै बिर्सिने गरेको आरोप उनीमाथि लाग्ने गर्छ ।
उच्च मनोबल र सक्रियता ओलीको अर्को सबल पक्ष हो । दुईपटक किड्नी फेरेर पनि उनले आफूलाई कहिल्यै कमजोर सोचेनन् । अहिले पनि पार्टी निर्माणका काममा देशभर खटिरहेका छन् । स्वास्थ्यप्रति लापरवाह रहेकोमा उनका निकटस्थहरु भने चिन्तित बन्ने गर्छन् ।
ओलीको अर्को प्रशंसित पक्ष भनेको ज्ञानको भण्डार हो । औपचारिक अध्ययन कम भए पनि उनको ज्ञानले अनौपचारिक अध्ययनमार्फत आफ्नो ज्ञानको दायरा फराकिलो बनाएका छन् । राजनीति मात्र नभएर अरु पनि विभिन्न विधामा उनी लामो प्रवचन दिन सक्छन् । उनी नयाँ नयाँ कुराहरुमा पनि अपडेट रहन्छन् । राष्ट्र निर्माणको भिजन पनि उनीसँग छ, तर त्यसको कार्यान्वयन पक्षमा भने ओली कमजोर देखिएका छन् । बोली र व्यवहारको अन्तराल घटाउन सके उनीबाट अझै देशले आशा राख्ने ठाउँहरु छन् ।