चितवन : श्री मिश्र समाज नेपाल र मिश्र सेवा समितिको संयुक्त भेला शनिबार चितवनको भरतपुरस्थित होटल जमघटमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। देवघाटधामका मिश्र समाज नेपालका अध्यक्ष सुदिप मिश्रको संयोजनमा सम्पन्न उक्त भेलामा देशभरका साथै विदेशमा स्थायी रूपमा बसोबास गर्ने अत्रि गोत्रीय मिश्र बन्धुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मिश्र समाज नेपालका अध्यक्ष त्रीलोचन मिश्र, वरिष्ठ महासचिव सालिकराम मिश्रलगायत देशभरका मिश्र समुदायका प्रतिनिधिहरूको सहभागिता रह्यो। भेलाले मिश्र समुदायलाई एउटै छातामुनि गोलबद्ध गर्ने, संगठनात्मक एकता सुदृढ गर्ने र विश्वभर रहेका मिश्र बन्धुहरूको हकहित, संरक्षण र सम्बर्द्धनका लागि दीर्घकालीन रणनीति तयार गर्ने निर्णय गरेको छ।
भेलामा देश तथा विदेशका मिश्र संघसंस्थाबीच निरन्तर संवाद, सहकार्य र ऐक्यबद्धता विस्तार गर्न विशेष जोड दिइएको थियो। बैठकले विधान मस्यौदा पारित गर्दै राष्ट्रिय स्तरमा समन्वयकारी भूमिका निर्वाह गर्नेगरी नौ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ।
निर्वाचित केन्द्रीय समितिका संयोजकमा सालिकराम मिश्र, उप–संयोजकमा श्रीप्रसाद मिश्र, महासचिवमा सुदिप मिश्र, सचिवमा गोपाल मिश्र, कोषाध्यक्षमा राधिका लामिछाने मिश्र चयन भएका छन्। त्यस्तै सदस्यमा बद्रीप्रसाद मिश्र, रामेश्वर मिश्र, भिम मिश्र र शम्भु प्रसाद मिश्र रहेका छन्।
“यो पहलले विश्वभर छरिएका मिश्र समुदायबीच सशक्त एकताको सूत्र प्रदान गर्नुका साथै समाज, धर्म, संस्कार र सेवाभावलाई संस्थागत रूप दिने नव गठित केन्द्रिय समितिका महासचिव सुदिप मिश्रले बताए । 
कार्यक्रममा सहभागीहरूले देवघाटधामस्थित तटभूमिमा बन्धु एकताको प्रतिकका रूपमा आयोजना गरिएको विशेष पूजाअर्चनामा समेत सहभागिता जनाएका थिए। सोही अवसरमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।
भेलाले निकट भविष्यमा देवघाटधाममा मिश्र समाजको केन्द्रीय कार्यालय, मन्दिर र अन्य संरचना निर्माण गर्ने योजना समेत सार्वजनिक गरेको छ।
भेलामा लब्धप्रतिष्ठित ब्यक्तित्व एवम् अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
२०८२ कार्तिक २६, बुधबार