धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र हिंसात्मक घटना र त्यसपछिको राजनीतिक घटनाक्रमलाई लिएर जनप्रतिनिधिहरूले कडा रोष प्रकट गरेका छन्। प्रमुख प्रतिपक्ष दलका नेतादेखि सत्तापक्षका सचेतकसम्मले पछिल्लो शान्ति सुरक्षाको अवस्था, नेताहरूको पक्राउ र प्रदेश सरकारको उदासीनतामाथि प्रश्न उठाउँदा सदन निकै उत्तेजित बनेको छ।
छानबिन र सरकारको ‘कुम्भकर्ण’ शैली: खगराज भट्ट
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्टले भदौ २३ र २४ गतेको घटनालाई गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिनको माग गर्नुभएको छ। २३ गतेको घटनाले २४ गतेको भयावह परिस्थिति निम्त्याएको हो कि होइन भन्ने कुरा स्पष्ट हुनुपर्ने उहाँको जिकिर थियो।
सरकारको आलोचना गर्दै भट्टले भन्नुभयो, “जेनजी आन्दोलन चर्कँदा केन्द्रमा सरकार कतै देखिएन, प्रदेशमा त झन् कुम्भकर्ण जस्तो सुतेको सरकार देखियो। यो हाम्रो लोकतन्त्रका लागि दुःखद हो।” उहाँले २४ गते भएको विध्वंसमा संलग्न जोसुकै भए पनि अपराधीको कठघरामा उभ्याइनुपर्नेमा जोड दिनुभयो। बिचौलिया र दलालसँग मिलेर योजना बेचेको आरोप लगाउँदै भट्टले प्रदेशको राजधानी समेत टुंगो लगाउन नसक्ने सरकारको औचित्यमाथि प्रश्न उठाउनुभयो।
ओली र लेखकको पक्राउप्रति एमालेको आपत्ति
नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रतिशोधका आधारमा शीर्ष नेताहरूलाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई विना कसुर थुनामा राखेर विधिको शासनको अन्त्य गरिएको उहाँको आरोप थियो।
रावलले भन्नुभयो, कुनै कसुर प्रमाणित नभई हाम्रा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई थुनामा राखिनु मानवअधिकारको उल्लंघन हो, उहाँहरूलाई तत्काल रिहा गरियोस्।” उहाँले संसद र सर्वोच्च जलाउनेहरूले राष्ट्रको जिम्मेवारी बहन गर्न नसक्ने बताउँदै, आफ्नो घर जलाउन लगाउनेहरूको सूचना आफूसँग रहेको खुलासा समेत गर्नुभयो। ग्रामीण क्षेत्रका जनता समस्यामा रहेको बेला सरकारले विकास र समृद्धिका कामलाई तीव्रता दिनुपर्ने उहाँको सुझाव थियो।
कांग्रेसको आक्रोश: “भाउजू भनेर अगाडि-पछाडि लाग्नेहरू कहाँ गए?”
नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सदनमा भावुक र आक्रोशित हुँदै आफ्नै पार्टीको आन्तरिक र सुरक्षा कमजोरीमाथि प्रश्न उठाउनुभयो। पार्टी सभापति शेरबहादुर देउवा र आरजू राणा देउवामाथि आक्रमण हुँदा पनि निकट मानिने नेताहरूले मौनता साधेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो।
रोष्ट्रमबाटै प्रश्न गर्दै धामीले भन्नुभयो, “मेरो नेताको घरमा आक्रमण भयो, उहाँ घाइते हुनुभयो। तर हिजोसम्म ‘भाउजू’ भन्दै अगाडि-पछाडि हिँड्नेहरू आज किन एक शब्द बोल्दैनन्?” उहाँले पनि केपी शर्मा ओली र रमेश लेखकलाई किरिया बसेको बेला पक्राउ गरिएकोमा सरकारको आलोचना गर्नुभयो। साथै, रास्वपा सांसदहरूतर्फ लक्षित गर्दै उहाँले ‘घण्टी बजाएर आएकाहरू अहिले शंख बजाउँदै सत्तामा पुगेको’ भन्दै व्यङ्ग्य गर्नुभयो।
बैठकमा उठेका प्रश्नहरूले सुरक्षा र राजनीतिक स्थिरताको चुनौतीलाई उजागर गरेको छ। विपक्षीले सरकारको अस्तित्वमाथि प्रश्न उठाइरहँदा सत्तापक्षका नेताहरूले पनि सुरक्षा संयन्त्र र नेतृत्वको सुरक्षामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्। सिंहदरबार, सर्वोच्च अदालत र प्रदेशका संरचनामाथि भएको प्रहारलाई सांसदहरूले राष्ट्रकै अपमानको रूपमा व्याख्या गरेका छन्।
प्रदेश सरकारले खर्च बढाउन नसकेको, थन्किएका विधेयकहरू अगाडि नबढाएको र जनताको विश्वास जित्न नसकेको आरोप खेपिरहेको बेला यो सदनको बहसले आगामी दिनमा सरकारलाई थप दबाब पुग्ने देखिएको छ।
२०८२ चैत्र २४, मंगलबार