काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। चीन र भारत भ्रमणमा जानुअघि उहाँले आफ्नो आसन्न भ्रमणबारे जानकारी दिन तथा लिपुलेक-कालापानी विवादबारे सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीन भ्रमणपछि उहाँ भारत जाने कार्यक्रम पनि तय भएको छ। भ्रमणमा जानुअघि उहाँले सदनलाई विदेश भ्रमणबारे जानकारी गराउनुहुनेछ।
यसैबीच, दुई प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने भएका छन्। भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै दुवै दलले संसद अवरोध गर्दै आएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले माग सम्बोधन नभएसम्म आफ्नो अवरोध जारी रहने बताउनुभएको छ। राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय नभएकाले बहिष्कार जारी रहने जानकारी दिनुभयो। यसअनुसार, रास्वपाका सांसद गणेश पराजुलीले बोलेपछि सबै सांसद बाहिरिने तयारी छ।
२०८२ भाद्र १३, शुक्रबार