+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्यू स्टार बोर्डिङ स्कुलमा नतिजा प्रकाशन, क्लब गठन र सीपमूलक तालिम सम्पन्न

अत्रिदेव खबर
२०८२ श्रावण १८, आईतबार

सुखड : न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले शुक्रबार एक विशेष कार्यक्रमका बीच प्रथम त्रैमासिक परीक्षा २०८२ को नतिजा प्रकाशन गरेको छ। चार चरणमा सम्पन्न कार्यक्रम विविध शैक्षिक, व्यवहारिक तथा जीवनोपयोगी पक्षहरूमा केन्द्रित रह्यो।

कार्यक्रमको पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषीराम सन्ज्यालले नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिनुभयो। त्यसपछि संस्थापक तथा प्रिन्सिपल श्री पी.आर. भण्डारीले विद्यार्थीसँग प्रेरणादायी सम्बोधन गर्दै संस्कार शिक्षा र समर्पणको महत्त्वमाथि प्रकाश पार्नुभयो।

दोस्रो चरणमा, ४.० GPA हासिल गरेका मेधावी विद्यार्थीहरूलाई विद्यालयले प्रमाणपत्रसहित सम्मानित गर्‍यो। साथै कक्षा ८, ९ र १० का उत्कृष्ट विद्यार्थीहरूलाई समेट्दै “एक्सिलेन्ट स्टुडेन्ट क्लब” गठन गरिएको थियो। क्लबले “मिशन ४.० GPA” तथा वार्षिक परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्य लिएको छ। क्लब संयोजकका रूपमा कक्षा ८ मा शिक्षक जीवन कुमार शर्मा, कक्षा ९ मा पुष्पराज कँडेल र कक्षा १० मा योगेश राज पुरीलाई चयन गरिएको छ। क्लबका सदस्यहरूलाई उनीहरूको भूमिका, दायित्व तथा अधिकारबारे प्रिन्सिपल भण्डारीले विशेष प्रशिक्षण दिनुभयो।

तेस्रो चरणमा, व्यवहारिक शिक्षाको अभ्यासस्वरूप “खिर पकाउने सीपमूलक तालिम” सञ्चालन गरियो। तालिममा सहभागी विद्यार्थीहरूले खाना पकाउने विधि मात्र होइन, श्रमको मूल्य र आत्मनिर्भरताको पाठ पनि सिकेका थिए।

चौथो तथा अन्तिम चरणमा शिक्षक स्टाफको बैठक बसेर विद्यालयमा वालमैत्री शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरियो। बैठकमा कक्षागत र उमेरअनुसार गृहकार्यको मात्रा, पठन-पाठनको शैली तथा समुचित मार्गदर्शनबारे स्पष्ट निर्देश तय गरिएको थियो। साथै, विद्यालयलाई क्षेत्रीय रूपमा नमूना बनाउने उद्देश्यसहित पदिय जिम्मेवारी पुनः बाँडफाँड गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रही अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२०८२ श्रावण १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ