डडेलधुरा : हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडले डडेलधुराको जोगबुढा, पर्शुराम नगरपालिका वडा नं. ४ रज्युडीमा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायका ५२ परिवारका २३२ सदस्यलाई ट्र्याकसुट र टी-शर्ट वितरण गरेको छ। यो पहल राउटे समुदायको सामाजिक समावेशीकरण र उनीहरूलाई समाजको मूलधारमा ल्याउने प्रयासमा महत्वपूर्ण कदम मानिएको छ।
डडेलधुरा उप-प्रादेशिक प्रमुख टेकराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमले राउटे समुदायलाई न्यानो कपडा प्रदान गर्नुका साथै उनीहरूमा बीमाप्रतिको सकारात्मक धारणा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वडा नं. ४ का अध्यक्ष बीसराम सिंह बोहरा तथा अन्य सदस्यहरूको रोहबरमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोहराले यस्ता कार्यक्रमले राउटे जातिलाई निकै हौसला पुग्ने, उनीहरूलाई एकै स्थानमा बस्न प्रोत्साहन मिल्ने र बीमाप्रति समाजको सकारात्मक धारणा निर्माण हुने बताउनुभयो। उहाँले हिमालयन लाईफ इन्स्योरेन्सलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद पत्रसमेत प्रदान गर्नुभयो।
हिमालयन लाईफका प्रदेश उप-प्रमुख श्री टेकराज आचार्यले यो कार्यक्रम कम्पनीको नितान्त सहयोगी र परोपकारी भावनामा आधारित संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार हिमालयन लाईफले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आइरहेको छ। गत वर्ष पनि पहाडी जिल्लाहरूमा ज्याकेट, खाद्यान्न र फलफूल वितरण गरेको स्मरण गराउँदै उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०८२ श्रावण ११, आईतबार